काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शुक्रबार दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलले राष्ट्रपति भवनमै विशेष संकल्प गरी कार्यालयका सहसचिव र उपसचिव मार्फत सामग्री पठाएका छन् । उनको सामग्री लिएर दोलखा गएका राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्साल र राष्ट्रपतिका स्वकीय उपसचिव सुशील तिमिल्सिनाले संकल्प गरिएको पूजा समाग्री मन्दिरका पुजारीहरुलाई विधिवत् रुपमा हस्तान्तरण गरेका थिए ।त्यस क्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेल राज्यको प्रतिनिधित्व गरी रुद्री लगायतका पूजा कार्यक्रममा सहभागी भएका थिए । शनिबार पूजा प्रसाद लिएर मन्दिरका पूजारीहरु राष्ट्रपतिकहा आउने पूजा कार्यक्रममा सहभागी सहसचिव लम्सालले जानकारी दिए ।
केही दिनअघि भीमेश्वरको भीमसेन शिलामा पसिना आएपछि अनिष्ठको चिन्ता गर्दै मन्दिरका पूजारीमार्फत राष्ट्रपतिलाई क्षमा पूजाका लागि आग्रह भएको थियो । भीमसेनलाई पसिना आउनु राष्ट्रप्रमुख वा राष्ट्रमा अनिष्ठ हुने विश्वास रही आएको जानकारी पनि गराइएको थियो । गत शनिबार र बुधबार भीमसेनको शिलामा पसिना आएको थियो ।
२०८१ श्रावण ११, शुक्रबार २१:२९ प्रकाशित