बहुचर्चित संघीय निजामती सेवा ऐन आउला ?


संसदमा विचाराधीन रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा एक हजार ५८३ वटा संशोधन प्रस्ताव परेको छ । निजामती प्रशासन हाँकने मुख्य कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन लामो समय देखि आउन नसक्दा प्रशासन पुरानै किसिमले चल्न बाध्य हुँदै आइरहेको छ ।

गत २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको विधेयकमाथि २१ चैतमा सैद्धान्तिक छलफल भएपछि संशोधनका लागि समय खुला भएको थियो । सांसदहरुले सैद्धान्तिक छलफल सकिएपछि ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

संसद सचिवालयको विधेयक शाखाले सांसदहरुबाट प्राप्त संशोधन प्रस्तावहरुलाई एकीकृत गर्ने काम पूरा गरेको छ । १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

२०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको चालु कार्यकालमा विधेयक दर्ता भएर अगाडि बढेको छ । प्राप्त संशोधनसहित दफावार छलफल भएर विधेयक अगाडि बढे संघीय निजामती सेवा ऐन आउन सक्छ तर यसैपटकको संसद बैठकमा सो ऐन आउन कठिन देखिएको छ । प्रतिनिधि सभाको बजेट अधिवेशन यही वैशाख २८ गते देखि सुरु हुने संसद सचिवालयले जनाएको छ ।

२०८१ बैशाख २७, बिहीबार ००:०८ प्रकाशित
ट्रेन्डिङ समाचार