काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रशासनिक प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र छिटोछरितो बनाउने उद्देश्यसहित ‘डिजिटल शासन रोडम्याप’ कार्यान्वयनमा ल्याएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको उक्त रोडम्यापले सरकारी सेवा प्रवाहलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नागरिकलाई सहज, कम लागत र झन्झटरहित सेवा दिने लक्ष्य अघि सारेको छ।
सरकारले सार्वजनिक सेवामा देखिएको कागजी झन्झट, ढिलासुस्ती, बिचौलिया प्रभाव र भ्रष्टाचारका सम्भावित जोखिमलाई न्यूनीकरण गर्न डिजिटल प्रणालीलाई प्राथमिकतामा राखेको हो।
रोडम्यापमा नागरिक केन्द्रित सेवा डिजाइन, सार्वजनिक सेवा प्रवाहको बिजनेस प्रोसेस पुनःसंरचना, राजस्व भुक्तानीको पूर्ण डिजिटाइजेसन, नागरिक पोर्टल निर्माण तथा सरकारी सूचना प्रणालीबीच अन्तरआवद्धता कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ।
गत पुस २२ गते मुख्य सचिवस्तरीय निर्णयमार्फत सूचना प्रविधि, विद्युतीय शासन (ई–गभर्नेन्स) तथा डाटा गभर्नेन्ससम्बन्धी अध्ययन कार्यदल गठन गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा अहिले रोडम्याप कार्यान्वयनमा ल्याइएको हो।
कार्यदलले सरकारी निकायबीच अन्तरसमन्वयको अभाव, अत्यधिक कागजी प्रक्रिया, सेवाग्राही र सेवा प्रदायकबीच प्रत्यक्ष सम्पर्क तथा त्यसबाट उत्पन्न हुने ढिलासुस्ती र अनियमिततालाई प्रमुख समस्याका रूपमा औंल्याएको छ।
प्रतिवेदनमा डिजिटल शासन प्रभावकारी रूपमा लागू भए सार्वजनिक सेवा छिटो, पारदर्शी, जवाफदेही र कम खर्चिलो बन्ने उल्लेख गरिएको छ।
संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको सन् २०२४ को ‘ई–गभर्नेन्स सर्भे’ अनुसार १९३ देशमध्ये नेपालको स्थान ११९औँ रहेको छ। नेपाल भारत, श्रीलंका र बंगलादेशभन्दा पछाडि रहेको प्रतिवेदनले देखाएको छ।
विश्वभर नीति निर्माणदेखि सेवा प्रवाहसम्म डिजिटल प्रणालीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला नेपालका लागि पनि डिजिटल शासन अब विकल्प नभई आवश्यकता बनेको कार्यदलको निष्कर्ष छ।
यस्तो छ डिजिटल शासन रोडम्याप
सार्वजनिक सेवा रूपान्तरण
- नागरिक केन्द्रित सेवा डिजाइन
- सार्वजनिक सेवा प्रवाहको बिजनेस प्रोसेस पुनःसंरचना
- राजस्व भुक्तानी पूर्ण डिजिटल बनाइने
- डेस्कटप नागरिक पोर्टल निर्माण
- सार्वजनिक सेवाको वर्कफ्लो चार्ट तयार गरिने
नीति तथा कानुन सुधार
- सूचना प्रविधि तथा ई–गभर्नेन्स नीति निर्माण
- सूचना प्रविधि तथा विद्युतीय शासन ऐन ल्याइने
- सार्वजनिक खरिद ऐन संशोधन गरी आईटी खरिदमा छुट्टै व्यवस्था
- ‘क्लाउड फस्ट’ नीति लागू
- डाटा संरक्षण नीति तथा ऐन निर्माण
संरचना र पूर्वाधार विकास
- सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना
- आईटी तथा ई–गभर्नेन्स नियामक निकाय गठन
- राष्ट्रिय साइबर सुरक्षा केन्द्र सुदृढीकरण
- नागरिक एपसहित डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विस्तार
- नागरिक सेवा केन्द्रको पाइलट परियोजना सञ्चालन
विद्युतीय शासन प्रणाली विकास
- नेशनल इन्टरप्राइज आर्किटेक्चर फ्रेमवर्क निर्माण
- सरकारी निकायमा GIoMS अनिवार्य लागू
- सरकारी सूचना प्रणालीबीच अन्तरआवद्धता
- एजेन्सीफिकेशनमार्फत सेवा प्रवाह सुधार
डाटा गभर्नेन्स र एआई
- डाटा गभर्नेन्स फ्रेमवर्क निर्माण
- गभर्नेन्स एआई मोडल विकास
- डाटा सुरक्षा मापदण्ड निर्धारण
- डाटा प्रोटेक्सन इम्प्याक्ट एसेसमेन्ट लागू
- मेटाडाटा रिपोजिटरी निर्माण
राष्ट्रिय साइबर सुरक्षा
- राष्ट्रिय साइबर सुरक्षा केन्द्र सुदृढीकरण
- साइबर सुरक्षासम्बन्धी जनचेतना विस्तार
मानव संसाधन व्यवस्थापन
- निजामती सेवाभित्र छुट्टै सूचना प्रविधि सेवा गठन
- आईटी जनशक्ति व्यवस्थापनको जिम्मेवारी विशेष निकायलाई दिने


