यस वर्ष २१ सय निजामती कर्मचारी सेवाबाट बाहिरिदै


–गतवर्ष बाहिरिएका थिए २२ सय जना
–हालसम्म अवकाश हुनेको संख्या ६० हजार
नेपाल समाचारपत्र, काठमाडौं
चालु आर्थिक वर्ष २०८१÷८२ मा निजामती क्षेत्रका विभिन्न तहमा रहेर ३० वर्ष भन्दा बढि सेवा दिदै आइरहेका २ हजार १ सय कर्मचारी सेवानिवृत्त हुने भएका छन् ।
राष्ट्रिय किताबखानाले किताबखानामा दर्ता भएका कर्मचारीको अनिवार्य अवकाश संख्या सम्वन्धमा तयार पारेको अनुमानित विवरणमा यस वर्ष २ हजार १ सय कर्मचारी अनिवार्य अवकाशमा जान लागेको देखिएको हो ।राष्ट्रिय कितावखानाले त्यस सम्वन्धि विवरण शुक्रबार आफ्नो वेभसाइट मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । ‘यस वर्ष २१ सय कर्मचारीले अनिवार्य अवकाश पाउनुहुनेछ, त्यस सम्वन्धि विवरण शुक्रबार वेभसाइट मार्फत सार्वजनिक गर्नेछौ । ’राष्ट्रिय कितावखानाका एक अधिकारीले भने । उनले अनिवार्य अवकाशमा जानेमा सबैभन्दा बढि श्रेणिविहीन कर्मचारी रहेको बताए । यसैगरि विभिन्न सेवा र तहका कर्मचारी कुनै न कुनै संख्याम बाहिरिने उनले बताए ।
राष्ट्रिय कितावखानाका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा अवकाशमा गएका कर्मचारीको संख्या २ हजार २ सय थियो । चालु आवमा भने अनिवार्य अवकाशमा जानेहरुको संख्या केहि घटेको कितावखानाले जनाएको छ ।
कितावखानाका अनुसार निजामती सेवाबाट बाहिरीनेहरुले ३० देखि ३३ वर्ष सम्म जागिर खाएका छन् । पहिला पहिला बाहिरीनेहरुले झण्डै ४० वर्ष सम्ममा नै जागिर खाने गरेका थिए । पछिल्ला समयमा निजामती सेवामा प्रवेश उमेर बढेकाले पनि जागिर खानेहरुले समय केहि घटेको हो । किताबखानाका अनुसार शुरुका वर्षहरुमा निजामती सेवामा प्रवेश गर्नेहरुको उमेर १७ –१८ वर्षको हुने गरेको थियो भने पछिल्ला वर्षहरुमा भने निजामती सेवामा प्रवेश गर्नेहरुको उमेर २२ –२३ वर्षको हुने गरेको छ ।
राष्ट्रिय किताबखानाका अनुसार निजामती सेवाबाट अनिवार्य अवकाश पाउने कर्मचारीको हालसम्मको संख्या ६० हजार रहेको छ । हाल निजामती सेवामा ८५ हजार कर्मचारी रहेका छन् ।

२०८१ श्रावण ३, बिहीबार २२:५५ प्रकाशित
ट्रेन्डिङ समाचार