४२९ कर्मचारी र २३४ जनप्रतिनिधि सहित १३३१ विरुद्ध भ्रष्टाचार मुद्दा


भ्रष्टाचार प्रकरणमा मुछिने कर्मचारीको संख्या हवात्तै बढ्यो 

–मुद्दा दायर हुनेमा प्राविधिक सेवाका अत्याधिक
–प्रशासन सेवाका पनि उल्लेख्य
– मुद्दा लाग्नेमा सबैभन्दा बढि अधिकृतस्तरका
–जनप्रतिनिधिको संख्या पनि बढ्दो

देश र जनताको सेवा गर्ने शपथ खाएर निजामती सेवामा प्रवेश गरेका राष्ट्रसेवक कर्मचारीहरु भ्रष्टाचारमा संलग्न हुने क्रम बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिकजसो कुनै न कुनै कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दैै आइरहेपछि भ्रष्टाचारमा लिप्त कर्मचारीको पर्दार्फास हुन थालेको छ । अख्तियारका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को जेठ मशान्त पहिलो साता सम्म भ्रष्टाचारमा संलग्न ४२९ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । यो क्रम जारी रहेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार सो अवधिमा २३४ जनप्रतिनिधिहरु माथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । चालु आवको हालसम्मको अवधिमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकाहरुको कूल संख्या भने १३३१ रहेको छ । सो अवधिमा १५९ वटा भ्रष्टाचार मुद्दा दायर भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा भन्दा चालु आर्थिक वर्षमा भ्रष्टाचारमा मुद्दा दायर हुने क्रम बढ्ने देखिएको छ । गत चालु आवको १२ महिनामा १६२ वटा मुद्दा दायर भएको थियो । हाल झण्डै साढे १० महिनाको अवधिमा १५९ वटा मुद्दा दायर भइसकेको छ । यस विश्लेषणले पनि गत वर्ष भन्दा यो वर्ष मुद्दा दायर हुने क्रम बढ्ने अख्तियारको विश्लेषण छ ।

जेठको पहिलो सातासम्म अख्यिारबाट मुद्दा दायर भएकाहरुमा ९ जना विशिष्ट श्रेणि(सचिव) स्तरका कर्मचारी छन् । उनीहरु ठेक्का पट्टा,अकूत सम्पति लगायतका भ्रष्टाचार प्रकरणमा परेका हुन् । यसैगरि सो अवधिमा भ्रष्टारचारमा मुद्दा लाग्नेमा २३ जना सहसचिवस्तरका कर्मचारी छन् । यस्तै भ्रष्टाचार मुद्दा लाग्नेमा उपसचिवस्तरका ५९ जना, शाखा अधिकृतस्तरका १३५ जना, लेखापाल ४३, नासु तथा सब इञ्जिनियरस्तरका १२२ , खरिदार २४, जुनियर कर्मचारी १२ र कार्यालय सहयोगी २ जना रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भ्रष्टचार मुद्दा दायर हुनेमा प्रशासन सेवाका १९३ जना र प्राविधिक सेवाका २०३ जना रहेका छन् ।
अख्तियारका अनुसार सो अवधिमा भ्रष्टाचार मुद्दा दायर हुने जनप्रतिनिधिहरुको संख्या पनि बढ्दो छ । सो अवधिमा निर्वाचित तर्फ ७१ जना तथा मनोनित तर्फ १६३ जना गरि २३४ जनप्रतिनिधिहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । यसैगरि व्यवसायी ५६ जना, विचौलिया र लेखापढी व्यवसायी गरि २ –२ जना विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ भने विभिन्न उपभोक्ता समितिका सदस्य तथा सरकारी अधिकारीहरुसँगको मिलिमतोमा भ्रष्टाचार गर्ने सर्वसाधरण तथा अन्य ६०९ जना विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । आयोगका अनुसार भ्रष्टाचार मुद्दाको अनुसन्धान र छानबीन गर्ने क्रममा देखिएका भ्रष्टाचारजन्य प्रवृत्तिमा सार्वजनिक सम्पतिको हिनामिना, हानीनोक्सानी वा दुरुपयोग गर्ने, घुस÷रिसवत लिने दिने, गैरकानुनी रुपमा सम्पति आर्जन गर्ने जस्ता भ्रष्टाचारजन्य कार्यहरु अधिक रुपमा देखिने गरेको छ ।

     कर्मचारी को कति ?
विशिष्ट श्रेणि सचिवसर ः ९
सहसचिव वा सो सरहः २३
उपसचिव, सिडिई वा सो सरह ः५९
शाखा अधिकृत, इञ्जिनियर ः १३५
लेखापाल ः ४३
नासु, सब इञ्जिनियर वा सो सरहः१२२
खरिदार ः २४
जुनियर कर्मचारी ः१२
कार्यालय सहयोगी ः २
जनप्रतिनिधि तथा अन्य को कति ?
जनप्रतिनिधि निर्वाचित ः ७१
मनोनित ः १६३
लेखापढी व्यवसायी २
विचौलिया १
व्यवसयी ः५६
अन्य ६०९

२०८१ जेष्ठ १८, शुक्रबार १९:४२ प्रकाशित
ट्रेन्डिङ समाचार