पुर्व राजा ज्ञानेन्द्रको चेतावनी :हाम्रो त्यागलाई कमजोरी नठानियोस्


काठमाडौं
पूर्व राजा ज्ञानेन्द्र शाहले व्यवस्था बदलेका शासकहरुले नागरिकको अवस्था भने परिवर्तन गराउन नसकेको बताउनुभएको छ । उहाँले आफुहरुको त्यागलाई कमजोरी नठान्न वर्तमान शासकहरुलाई चेतावनी दिनुभएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै पुर्व राजा शाहले व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद भएको टिप्पणी गर्नुभयो । उहाँले अब राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई आव्हान गर्नुभयो । जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको शाहको दाबी छ । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरुलाई चेतावनी दिदै भन्नुभएको छ ‘ नेपालको उन्नतिका लागि त्याग गरेको र जनहीतमा अन्य कुरा पनि त्याग्न तयार रहेका छौं । ’
जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उल्लेख गर्दै उहाँले प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने आवश्यकता औल्याउनुभयो । प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने बताउदै शाहले भन्नुभएको छ ‘ निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन, ्,पक्ष विपक्षको अहंकार आ आफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’शाहले देशको इतिहास मेटिँदै गएको अनुभूति गरिएको बताउनुभयो ।

नेपालीको पसिना स्वदेशमा नभई बाहिर पोखिएको औल्याउँदै शाहले भन्नुभएको छ ‘जन्मदै नेपालीको शिरमा हजारको होइन, लाखको ऋणभार बोझ छ,विद्यार्थी र शिक्षक पातलिँदै गएको र व्यवसाय, व्यापार निरन्तर धरासायी भएको छ । ’

२०८१ फाल्गुन ६, मंगलवार २२:४७ प्रकाशित
ट्रेन्डिङ समाचार