मेयरका छोराले कुटे प्रमुख प्रशासकीय अधिकृत, कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई चिठ्ठी


काठमाडौं । धनुषास्थित विदेह नगरपालिकाका मेयर बेचनदासका छोरा रामभजन दासले कार्यकक्षमा नै हातपात गरेपछि पालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहले मेयरका बाबु छोरालाई कारवाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत साहलाई मेयरका छोरा रामभजनले केहि दिनअघि साहको कार्यकक्षमा नै गएर हातपात गरेका थिए । सोही विषयमा प्रहरीमा छलफल हुँदा मेयर बेचनले समेत प्रशासकीय अधिकृत साहलाई गोलीले उडाइदिने धम्की दिएका थिए ।

पीडित साहले जिल्ला प्रशासन कार्यालय धनुषामा कारवाहीको माग गर्दै निवेदन दिएपनि उनीहरूमाथि कुनै कारवाही नभएपछि साहले प्रधानमन्त्री समक्ष अर्को निवेदन पठाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार मेयर बेचनका छोरा रामभजनले शिक्षा सेवा आयोगबाट सिफारिस भएकी निमावि सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराउँदा तैले यसलाई किन हाजिर गराइस् भन्दै धाकधम्की, गालीगलौज गर्दै साहलाई उनकै कार्यकक्षमा कुटपिट गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत साहले आफूले २५ दिनमा गरेका २४ कार्यको सूचीसमेत प्रधानमन्त्रीलाई पठाउनुभएको छ ।

साहले आफू १२ वर्षसम्म लगातार राष्ट्रिय सतर्कता केन्द्रमा अनुशासित कर्मचारीको रुपमा कार्य गरेको र अहिले आफ्नै गाउँठाउँ छेउको पालिकामा जनताको सेवा गर्न आएको बताए ।

उनले आफू माघ २ गतेदेखि २७ गतेसम्म लगातार २५ दिन कुनै विदा नलिई छुट्टीको दिनमा समेत विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म लगागार जनताको काममा खटेको स्पष्ट पारे । त्यसैले अझै यस पालिकामा लगातार २ वर्षसम्म काम गरेर व्यापक सुधार गर्ने अवसर दिलाइदिनु हुन प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलाय तथा सरकारका विभिन्न सरोकारवाला निकायलाई उनले आग्रह गरेका छन् ।

२०८१ फाल्गुन २, शुक्रबार २३:०९ प्रकाशित
ट्रेन्डिङ समाचार