काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा निस्किएपछि कार्यबहाक प्रमको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री ओली सोमबार सोतर्फ उडेपछि सिंहले सोको जिम्मेवारी पाएका हुन् ।
प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए। उनीहरूसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरुसमेत विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री ओलीसँगै चीन जाने नेपाली प्रतिनिधिमण्डलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा .आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी पनि रहेका छन् ।
चीनमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने छन् भने लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएकाे छ । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीले पनि उनीसँग भेट गर्ने कार्यतालिका रहेकाे छ ।
यसैगरी, भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । प्रधानमन्त्री ओली मङ्सिर २० गते, बिहीबार स्वदेश फर्किनेछन्।
प्रधानमन्त्री ओलीकाे अनुपस्थितीमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको हाे ।


