काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रूपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा हुने गरी सफल बनाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
“द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण भएका समझदारीमा नै हाम्रो जोड हुनेछ,” उपमहासचिव ज्ञवालीले भने, “त्यसको अलवा द्विपक्षीय अन्य हितका विषयमा पनि हामी छलफल गर्नेछौँ । नेपालको अधिकतम राष्ट्रियहितमा हुने गरी यो भ्रमणलाई सफल पार्दछौँ ।”
उपमहासचिव ज्ञवालीकाका अनुसार बैठकले सरकारले चार महिनाको समीक्षाको गरेको छ । सरकारले आधारभूत रूपमा ठिक ढंगले काम गर्दै अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ । नेपाली काँग्रेस र एमालेबीचमा समझदारीलाई अझ प्रगाढ बनाउने र काममा अझ समन्वय गर्नका लागि सयन्त्र बनेको उनले जानकारी दिए ।
ज्ञवालीले उपनिर्वाचनमा उम्मेदवारको नाम अनुमोदन बैठकले उपनिर्वाचनको लागि प्रदेश कमिटीले सिफारिस भई आएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको बताए । उनका अनुसार बैठकले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा सिंगो पार्टी पङ्क्तिलाई केन्द्रित हुन निर्देशन दिएको छ ।
“उपनिर्वाचनका लागि प्रदेश कमिटीबाट निर्णय भइआएका उम्मेदवारको नाम अनुमोदन गर्ने काम गरेको छ र सिंगो पार्टी पङ्क्तिलाई निर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ,” उपमहासचिव ज्ञवालीले भने ।
उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने र सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने उपमहासचिव ज्ञवालीले स्पष्ट पारे । निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलसँग सहकार्य हुनसक्ने उनको भनाइ छ ।


