नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ महिला च्याम्पियनशिपको उपाधि


काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ ।

बुधबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हराउँदै सो उपाधि जितेको हो ।

खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्‍याएकी थिइन् ।

तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् ।

नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए ।

यसअघि ५ पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट वञ्चित भयो । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

२०८१ कार्तिक १४, बुधबार २२:१६ प्रकाशित
ट्रेन्डिङ समाचार