ADVERTISEMENT

दूरसञ्चार सेवाको गुणस्तर सुधार्न प्राधिकरणको कडा निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि निर्धारित मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

बिहीवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले गुणस्तरसम्बन्धी मापदण्ड कार्यान्वयनमा कुनै बहाना वा छुट स्वीकार्य नहुने बताउनुभयो ।

उहाँका अनुसार सेवा प्रदायकहरूले प्रत्येक आर्थिक वर्ष गुणस्तर सुधार योजना (क्वालिटी इम्प्रुभमेन्ट प्लान) पेस गर्दै आए पनि टावर थप्ने र फ्रिक्वेन्सी विस्तार गर्ने प्रतिबद्धता कार्यान्वयनमा अपेक्षित प्रगति हुन सकेको छैन ।

प्राधिकरणले सेवा गुणस्तर परीक्षणका लागि कम्तीमा ८०० देखि ९०० किलोमिटर क्षेत्र समेटेर सहरी, ग्रामीण, तराई तथा दुर्गम हिमाली क्षेत्रमा ड्राइभ टेस्ट गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रवक्ता अर्यालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणमा डेटा सेवासम्बन्धी ३३९ र मोबाइल भ्वाइस सेवासम्बन्धी ९६ वटा गुनासा दर्ता भएका छन् । प्राप्त गुनासाहरू सम्बन्धित सेवा प्रदायकलाई पठाएर समाधानका लागि निर्देशन दिने गरिएको छ ।

उहाँले सेवा प्रदायकहरूलाई सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट आउने उपभोक्ताका गुनासालाई समेत गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गर्नुभयो ।

प्राधिकरणले नयाँ प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासअनुसार दूरसञ्चार सेवाको गुणस्तर मापन गर्ने प्रमुख कार्यसम्पादन सूचक (केपीआई) तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै लैजाने जनाएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार