काठमाडौं । विश्वका धनाढ्य व्यक्ति इलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सका दुई कित्ता सेयर दिने घोषणा गरेका छन्। करिब १८ अर्ब अमेरिकी डलर मूल्य बराबरको उक्त सेयर कम्पनी र मस्कले व्यक्तिगत रूपमा उपलब्ध गराउने भएका हुन्।
मस्कले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको जानकारीअनुसार एउटा सेयर स्पेसएक्सले र अर्को सेयर उनले व्यक्तिगत रूपमा दिनेछन्। कम्पनीले आफ्नो सेयर आगामी महिना हस्तान्तरण गर्नेछ भने मस्कले व्यक्तिगत रूपमा दिने सेयर आगामी वर्ष जुन महिनामा आफ्नो लकअप अवधि सकिएपछि उपलब्ध गराउने बताएका छन्।
स्पेसएक्सले अमेरिकाका १८ वर्षमुनिका बालबालिकाका लागि सञ्चालन गरिएको ‘ट्रम्प खाता’ कार्यक्रममा आफ्नो क्लास ए साधारण सेयरको एक कित्ता योगदान गर्ने जनाएको छ। मस्कले पनि कम्पनीले दिएको बराबरकै सेयर व्यक्तिगत रूपमा थप्ने प्रतिबद्धता जनाएका छन्।
बुधबार स्पेसएक्सको सेयर मूल्य प्रतिकित्ता १२७.४४ डलरमा बन्द भएको थियो। यस आधारमा सेयर वितरणको कुल मूल्य करिब १८ अर्ब डलर हुने अनुमान गरिएको छ।
मस्कले यसअघि पनि अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने घोषणा गरेका थिए। उनको पछिल्लो घोषणासँगै बालबालिकाले कुल दुई कित्ता सेयर पाउने भएका छन्।
यसैबीच, एआई कम्पनी एन्थ्रोपिकले पनि जनहितका लागि स्थापना गरिने नयाँ कोषमा आफ्नो पाँच प्रतिशत सेयर दिने प्रतिबद्धता जनाएको छ। उक्त सेयरको हालको अनुमानित मूल्य करिब ५४ अर्ब डलर रहेको बताइएको छ।
पछिल्लो समय प्रविधि तथा एआई क्षेत्रका ठूला कम्पनीहरूले आफ्नो सम्पत्तिको हिस्सा सामाजिक हित र परोपकारी कार्यमा लगानी गर्ने योजनाहरू अघि बढाइरहेका छन्।




प्रतिक्रिया