ADVERTISEMENT

सुनकोशी–मरिणको ठेक्का रद्दबारे निष्पक्ष छानबिन गर्न आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयको भूमिकासमेत छानबिन गर्न माग गरेका छन्।

उनले आर्थिक प्रस्ताव खोल्ने अन्तिम तयारी भइरहेका बेला आयोजनाका कर्मचारीमाथि प्रशासनिक दबाब दिई कानुनविपरीत ठेक्का रद्द गराइएको आरोप लगाएका छन्। यस्तो कार्य सार्वजनिक खरिद ऐनविपरीत र राज्यशक्तिको दुरुपयोग भएको उनको दाबी छ।

यस विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारसँग सात दिनभित्र घटनासँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिइसकेको छ।

आङ्देम्बेका अनुसार ठेक्काका लागि ६ वटा कम्पनीले बोलपत्र पेस गरेकामा तीनवटा प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका थिए। आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको प्रक्रिया अपारदर्शी रूपमा रोकिएको उनको आरोप छ।

मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको १३.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न भइसकेको छ।

आयोजनालाई प्रशासनिक हस्तक्षेप र राजनीतिक प्रतिशोधबाट मुक्त राख्नुपर्ने बताउँदै आङ्देम्बेले ठेक्का रद्द गर्ने निर्णय प्रक्रियाबारे सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र तथा निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार