ADVERTISEMENT

बैंकमा तरलता थुप्रिँदा सरकारले २.९३ प्रतिशत ब्याजमै ऋण उठाउँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएपछि सरकारले सस्तो ब्याजदरमा आन्तरिक ऋण उठाउन थालेको छ । कर्जाको माग कमजोर हुँदा बैंकहरू सरकारी ऋणपत्रमा लगानी गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले १३ पटक विकास ऋणपत्र निष्कासन गरी १ खर्ब ३० अर्ब रुपैयाँ उठाएको छ । तर, उक्त रकमका लागि ६ खर्ब ८८ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । यो निष्कासन रकमको ५.३० गुणा बढी हो ।

विकास ऋणपत्रको औसत कटअफ ब्याजदर २.९३ प्रतिशत कायम भएको छ । पाँच वर्ष अवधिको ऋणपत्रमा सबैभन्दा बढी आकर्षण देखिएको छ । १० अर्ब रुपैयाँको ऋणपत्रका लागि ७३ अर्ब ७८ करोड रुपैयाँको आवेदन परेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ६१ खर्ब १८ अर्ब रुपैयाँ मात्रै छ । बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात ७१.१६ प्रतिशतमा सीमित रहँदा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम थुप्रिएको छ ।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत १३ खर्ब ७६ अर्ब रुपैयाँ बजारबाट खिचेको छ । कर्जाको माग कमजोर र सरकारी ऋणपत्रमा लगानीको प्रतिस्पर्धा बढ्दा सरकारले विगतको तुलनामा निकै कम ब्याजदरमा ऋण जुटाउने अवसर पाएको हो ।

सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । तर, पुरानो ऋणको साँवा भुक्तानीपछि खुद आन्तरिक ऋण परिचालन १ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ मात्रै रहनेछ ।

यसैबीच, कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत हो ।

बैंकिङ प्रणालीमा तरलता पर्याप्त हुँदा सरकारले सस्तो ब्याजमा ऋण पाउनु सकारात्मक भए पनि बढ्दो सार्वजनिक ऋणको भार र त्यसको सदुपयोग तथा भुक्तानी क्षमतामाथि चुनौती थपिँदै गएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार