काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सिसडोल र बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि दैनिक ३ हजार किलो फोहोर हटाउने योजना अघि सारेका छन् ।
बिहीबार टेकुस्थित बायोमिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो विषय भएको बताए । उनले काठमाडौं महानगरपालिकाले आगामी दिनमा आफ्नो एक किलो फोहोर पनि ल्याण्डफिल साइटमा नपठाउने लक्ष्यसहित काम गर्नुपर्नेमा जोड दिए ।
उनले फोहोर व्यवस्थापनलाई क्रमशः विस्तार गर्दै स्थानीय तहलाई एलपीजी ग्यासमुक्त बनाउने सरकारको उद्देश्यमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । यसका लागि घरबाटै फोहोर वर्गीकरण गर्ने व्यवस्था मिलाउन र नागरिकमा जनचेतना बढाउनुपर्ने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनका लागि अन्य स्थानीय तहसँग पनि समन्वय गरेर अघि बढ्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे ।
यसैबीच, महानगरले अघि सारेका तीन कार्यक्रममध्ये काठमाडौंलाई रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास उत्पादन गर्ने काम सम्पन्न भएको उनले जानकारी दिए । फोहोरबाट १४ किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहे पनि उपकरण बिग्रिएका कारण हाल उत्पादन हुन सकेको छैन । उपकरण मर्मतका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई निर्देशन दिइसकेको मन्त्री श्रेष्ठले बताए ।




प्रतिक्रिया