इलाम । सशस्त्र प्रहरी बलले इलामको पशुपतिनगर क्षेत्रबाट १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर ९ गतेसम्म सीमा सुरक्षा गुल्म पशुपतिनगरले सूर्योदय नगरपालिकाका सात स्थानमा गरेको कारबाहीका क्रममा उक्त सामान बरामद गरेको हो ।
बरामद सामानमा १७८ कार्टुन अर्थात् ३ हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, ५७० किलो फर्सीको बियाँ तथा जुत्ता–चप्पललगायत छन् । यस अवधिमा तस्करी हुँदै गरेका केही चौपाया समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा क्षेत्र र खोलागोदामलगायत स्थानबाट बीओपी मानेभञ्ज्याङ र बीओपी छब्बिसेका संयुक्त टोलीले सामान बरामद गरेको हो ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती र निगरानी गर्दै आएको छ ।




प्रतिक्रिया