ADVERTISEMENT

मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य

काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रकारका दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको छ ।

काउन्सिलले सूचना जारी गर्दै मंसिर १५ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको जनाएको छ । अब काउन्सिलबाट प्रमाणपत्र लिन आवेदन दिने चिकित्सकले प्यान नम्बर, प्यान प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि भने थप कागजात आवश्यक पर्नेछ । नेपालमा कार्यरत चिकित्सकले आफू कार्यरत संस्थाको रोजगारसम्बन्धी पत्र तथा विदेशमा कार्यरत चिकित्सकले सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी भएको गुड स्ट्यान्डिङ प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

त्यस्तै, कुनै रोजगारीमा संलग्न नभएका चिकित्सकले आफू बेरोजगार रहेको स्पष्ट खुलाएर आवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ ।

सरकारको अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभागबाट भएका पत्राचार र आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा उल्लेखित व्यवस्थाको कार्यान्वयनका लागि यस्तो निर्णय गरिएको काउन्सिलले जनाएको छ ।

आवेदनमा पेस गरिएका विवरण वा कागजात झुटा तथा गलत ठहरिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने काउन्सिलले चेतावनी दिएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार