ADVERTISEMENT

आजका प्रशासनिक हाइलाइट्स : हिउँदे अधिवेशन बोलाउने तयारी, निजामती विधेयकदेखि कर्मचारी सरुवामा हस्तक्षेप,७७ जिल्लाका सीडीओसँग गृहसचिवको जुम संवाद, हुलाकमार्फत गाउँगाउँमा पुग्ने भयो राजपत्रसम्म

काठमाडौं ।सिंहदरबारदेखि देशभरका सरकारी कार्यालयसम्म आज प्रशासन क्षेत्रमा विभिन्न विषय चर्चामा रहे। संसद्को हिउँदे अधिवेशन बोलाउने तयारीदेखि संघीय निजामती सेवा विधेयक अघि बढाउने सरकारको तयारी, कर्मचारी सरुवामा सचिवालयको हस्तक्षेपको आरोपदेखि ७७ जिल्लाका सीडीओसँग गृहसचिवको संवादसम्मका विषय आज चर्चामा रहे।साथै अब  हुलाकमार्फत गाउँगाउँमा पुग्ने भयो राजपत्र।  अब आजका प्रमुख प्रशासनिक समाचारतर्फ लागौँ।

१. हिउँदे अधिवेशन मंसिर २१ भित्रै बोलाउने तयारी, दर्जनौँ कानुन सरकारको प्राथमिकतामा

सरकारले आगामी मंसिर २१ वा २२ गतेभित्रै संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको छ। लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयकसहित महत्वपूर्ण कानुन निर्माणको प्रक्रिया अघि बढाउने सरकारको तयारी छ। कानून मन्त्रालयका अनुसार ३२ वटा विधेयक संसद्मा पठाइसकिएको छ भने थप २२ वटा विधेयक निर्माणको क्रममा छन्।

२. संसद् सुरु हुनासाथ निजामती विधेयक टेबल गर्ने तयारी, ३०–५५ मा कर्मचारीको चासो

सरकारले संसद्को हिउँदे अधिवेशन सुरु हुनासाथ संघीय निजामती सेवा विधेयक अघि बढाउने तयारी गरेको छ। सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पनि विधेयक सुरुमै टेबल गर्ने तयारी भइरहेको बताएकी छन्। विधेयक संसद्मा प्रवेश गर्ने तयारीसँगै कर्मचारी वृत्तमा ३०–५५ अवकाश व्यवस्था, पेन्सन कटौती र वृत्ति विकासका प्रावधानबारे चासो र बहस बढेको छ।

३. निजामती ऐन आउन ढिलाइ हुनुमा कर्मचारी नै दोषी ? मन्त्री रावलको आरोपले प्रशासन वृत्तमा तरंग

संघीय निजामती सेवा ऐन आउन ढिलाइ हुनुमा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कर्मचारीतन्त्रमाथि नै दोष लगाएकी छन्। कर्मचारीकै असहयोग, प्रस्तावित प्रावधान सार्वजनिक गर्ने र सामाजिक सञ्जालमा विवाद सिर्जना गर्ने प्रवृत्तिका कारण विधेयक अघि बढ्न नसकेको उनको आरोप छ। तर प्रशासन वृत्तमा भने राजनीतिक नेतृत्व आफ्नो जिम्मेवारीबाट उम्कन खोजेको भन्दै मन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि देखिएको छ।

४. खरिदारदेखि सहसचिवसम्म सरुवामा सचिवालयको हस्तक्षेपको आरोप, मापदण्डमाथि प्रश्न

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेयता हजारौँ कर्मचारीको सरुवा भएको छ। तर सरुवामा स्पष्ट मापदण्ड, पारदर्शिता र विधि पद्धति पालना नभएको भन्दै प्रश्न उठ्न थालेको छ। विशेषगरी प्रधानमन्त्रीको सचिवालयबाटै सरुवामा हस्तक्षेप हुने गरेको कर्मचारीहरूको आरोप छ। प्रशासनविद्हरूले सरुवा प्रणालीलाई व्यक्तिगत पहुँच होइन, योग्यता, आवश्यकता र कार्यसम्पादनका आधारमा सञ्चालन गर्नुपर्ने बताएका छन्।

५. निजामती विधेयकका १४८ वटै दफामा गम्भीर बहस गर्न प्रशासनविद्को सुझाव

संघीय निजामती सेवा विधेयक संसद्मा प्रवेश गर्ने तयारीसँगै पूर्वप्रशासक तथा प्रशासनविद्हरूले हतारमा पारित नगर्न सांसदहरूलाई सुझाव दिएका छन्। ३०–५५ अवकाश व्यवस्था, पेन्सन कटौती, सेवा सुरक्षा र वृत्ति विकासलगायतका विषयमा विशेष अध्ययन गर्नुपर्ने उनीहरूको भनाइ छ। यो विधेयक कर्मचारी व्यवस्थापनको कानुन मात्र नभई संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउने आधारसमेत भएकाले सबै १४८ दफामाथि गम्भीर बहस गर्नुपर्ने उनीहरूको सुझाव छ।

६. ७७ जिल्लाका सीडीओसँग गृहसचिवको जुम संवाद, शान्ति सुरक्षा र सेवा प्रवाह सुधार्न निर्देशन

गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जुम बैठक गरेको छ। बैठकमा जिल्लाको शान्ति सुरक्षा, सरकारी सेवा प्रवाह, विकास निर्माण र आयोजना कार्यान्वयनका समस्या तथा चुनौतीबारे समीक्षा गरिएको छ। गृहसचिव केदारनाथ शर्माले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह प्रभावकारी बनाउन र जिल्लाको समग्र अवस्था सुधार्न सीडीओहरूलाई निर्देशन दिएका छन्।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकको उद्देश्य देशभरको समग्र अवस्था बुझेर आवश्यक सुधार र आगामी रणनीति तय गर्नु रहेको छ।

अब अन्य महत्वपूर्ण समाचार संक्षेपमा :

  • ठमेलमा काठमाडौं प्रशासनको निगरानी र कारबाही अभियान : काठमाडौंलाई २४ सै घण्टा चलायमान सहर बनाउने तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमा निगरानी र कारबाही अभियान थालेको छ।
  • अध्यागमन सुधारमा विभागको सक्रियता : विमानस्थलदेखि विभिन्न अध्यागमन सेवा केन्द्रसम्म जरा गाडेका विकृति, बिचौलिया र अनौपचारिक सेटिङ नियन्त्रण गर्दै अध्यागमन विभागले संस्थागत तथा संरचनागत सुधारलाई तीव्रता दिएको छ।
  • प्रेस स्वतन्त्रताको पक्षमा देशभरका पत्रकार सडकमा : पत्रकारमाथिको धरपकड, गिरफ्तारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोधमा नेपाल पत्रकार महासंघको अगुवाइमा देशभरका पत्रकारले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका छन्।
  • हुलाकमार्फत गाउँगाउँमा पुग्ने भयो राजपत्र :हुलाक सेवा विभाग र मुद्रण विभागबीच आज दुईपक्षीय सम्झौता भएको छ। सम्झौताअनुसार मुद्रण विभागबाट प्रकाशित हुने राजपत्रलगायतका सामग्री अब हुलाक सेवामार्फत देशभरका गाउँगाउँसम्म पुर्‍याइनेछ।सरकारी प्रकाशन तथा सामग्रीको सहज र प्रभावकारी वितरण गर्ने उद्देश्यले भएको सम्झौतामा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पंगेनी र मुद्रण विभागका महानिर्देशक छविन्द्र पराजुलीले हस्ताक्षर गरेका छन्। यस व्यवस्थाले सरकारी प्रकाशनमा सर्वसाधारणको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार