ADVERTISEMENT

७७ जिल्लाका सीडीओसँग गृहसचिवको ‘जुम संवाद’, शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निर्माणमाथि समीक्षा

नयाँ सरकारको स्पिरिटअनुसार काम गर्न सीडीओलाई गृहसचिव शर्माको निर्देशन, जिल्लाका समस्या र विकास आयोजनाको ढिलाइबारे समेत जानकारी लिइयो

काठमाडौं । मुलुकको शान्ति सुरक्षा, सरकारी सेवा प्रवाह र विकास निर्माणको वास्तविक अवस्था बुझ्न गृह मन्त्रालयले एकैपटक देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग प्रत्यक्ष संवाद गरेको छ।

गृह मन्त्रालयले बुधबार जुममार्फत आयोजना गरेको बैठकमा जिल्लाको शान्ति सुरक्षाको अवस्था, सरकारी कार्यालयबाट प्रवाह हुने सेवाको प्रभावकारिता, विकास निर्माणका कामको प्रगति तथा आयोजना कार्यान्वयनमा देखिएका ढिलाइ र स्थानीयस्तरमा भोग्नुपरेका समस्या एवं चुनौतीबारे विस्तृत जानकारी लिइएको हो।

गृहसचिव केदारनाथ शर्माको नेतृत्वमा भएको बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयका सबै महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो।

बैठकमा प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको समग्र सुरक्षा अवस्था, सम्भावित सुरक्षा चुनौती, सरकारी सेवा प्रवाहमा देखिएका समस्या तथा विकास निर्माणका कामको प्रगतिबारे गृह नेतृत्वलाई जानकारी गराएका थिए। जिल्लामा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन देखिएका प्रशासनिक अवरोध र विकास आयोजनामा भइरहेको ढिलाइका कारणसमेत बैठकमा उठाइएको थियो।

सीडीओमार्फत जिल्लाको वास्तविक अवस्था बुझ्ने प्रयास

गृह मन्त्रालयले देशभरको शान्ति सुरक्षाको अवस्थाबारे एकीकृत जानकारी लिने, सुरक्षा चुनौतीको विश्लेषण गर्ने र आवश्यकताअनुसार सुरक्षा रणनीति तय गर्ने उद्देश्यले बैठक आयोजना गरेको जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मुलुकको समग्र शान्ति सुरक्षा, सरकारी सेवा प्रवाह र विकास निर्माणको अवस्था बुझेर आवश्यक सुधार तथा रणनीति तय गर्न बैठक आयोजना गरिएको जानकारी दिए।

उनका अनुसार जिल्लाबाट प्राप्त हुने जानकारीका आधारमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै सरकारी सेवा प्रवाह र विकास निर्माणका कामलाई गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैठकमा जिल्लास्तरबाट उठेका समस्या, गुनासा र चुनौतीलाई गृह नेतृत्वले प्रत्यक्ष सुन्ने अवसरसमेत प्राप्त भएको थियो। यसले केन्द्र र जिल्लाबीचको समन्वय बलियो बनाउँदै स्थानीय तहमा देखिएका प्रशासनिक समस्या समाधान गर्न सहयोग पुग्ने गृह नेतृत्वको विश्वास छ।

नयाँ सरकारको स्पिरिटअनुसार काम गर्न निर्देशन

बैठकमा गृहसचिव शर्माले प्रमुख जिल्ला अधिकारीहरूलाई शान्ति सुरक्षा सुदृढ बनाउने विषयमा थप सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिए।

उनले नयाँ सरकारको स्पिरिट र प्राथमिकताअनुसार जिल्लास्थित सरकारी कार्यालयहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीसँगै सरकारी निकायहरूबीच समन्वय गर्ने, सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या पहिचान गर्ने र विकास निर्माणका काममा देखिएका अवरोध हटाउन सहजीकरण गर्ने भूमिका पनि प्रमुख जिल्ला अधिकारीहरूको हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने गृहसचिव शर्माको भनाइ थियो।

बैठकले केन्द्रमा मात्रै बसेर जिल्लाको अवस्था बुझ्नेभन्दा जिल्लाको नेतृत्व गरिरहेका प्रमुख जिल्ला अधिकारीसँगै प्रत्यक्ष संवाद गरेर समस्या पहिचान गर्ने प्रयास गरेको छ।

देशभरका ७७ जिल्लाको सुरक्षा, प्रशासनिक सेवा र विकास निर्माणको अवस्था एउटै बैठकबाट समीक्षा गरिनुलाई गृह मन्त्रालयले जिल्लास्तरको प्रशासनिक संयन्त्रलाई थप सक्रिय बनाउने प्रयासका रूपमा लिएको छ।

अब बैठकमा उठेका समस्या र चुनौतीलाई कसरी सम्बोधन गरिन्छ तथा जिल्लामा दिइएको निर्देशन कार्यान्वयनमा कति प्रभावकारी हुन्छ भन्ने विषय भने आगामी दिनमा देखिनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार