काठमाडौं । अल्टिच्युड एयरले स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा आफ्नो हेलिकोप्टर बेडामा नयाँ अत्याधुनिक एयरबस एच–१२५ बी३ई प्लस हेलिकोप्टर थप गरेको छ ।
कम्पनीका अनुसार नयाँ हेलिकोप्टर आगामी मार्च १५ देखि व्यावसायिक उडानमा सञ्चालन गर्ने तयारी गरिएको छ । हाल फ्रान्समा हस्तान्तरण प्रक्रिया पूरा भएको हेलिकोप्टर करिब साढे दुईदेखि तीन महिनाभित्र नेपाल आइपुग्नेछ ।
कम्पनीका बोर्ड डाइरेक्टर तथा फाइनान्स डाइरेक्टर जीवन घिमिरेका अनुसार नयाँ हेलिकोप्टरमा डिजिटल ड्यासबोर्ड, इनबिल्ट गार्मिन प्रणाली तथा भूभागको अवस्था जानकारी दिने अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसले स्लिङ फ्लाइट, लङलाइन उद्धार तथा दुर्गम क्षेत्रमा सामान ढुवानी गर्न सहज बनाउनेछ ।
नयाँ हेलिकोप्टर थपिएसँगै अल्टिच्युड एयरसँग हेलिकोप्टरको संख्या तीन पुग्नेछ । यसबाट पर्वतीय पर्यटन, हिमाली दृश्यावलोकन, धार्मिक तीर्थयात्रा, आपत्कालीन उद्धार तथा दुर्गम क्षेत्रमा हवाई सेवा विस्तारमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
सुरक्षा र विश्वसनीयतालाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप गुणस्तरीय तथा प्रभावकारी हवाई सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया