ADVERTISEMENT

संघीय निजामती सेवा ऐन रोकिएको दोष कर्मचारीमाथि थोपर्दै मन्त्री रावल, ‘आउनै लागेको ऐन कर्मचारीकै कारण रोकियो’

३०–५५ वर्षे सेवा अवधि र पेन्सन कटौतीको प्रस्ताव सार्वजनिक गरेर विवाद सिर्जना गरिएको मन्त्रीको आरोप, हिउँदे अधिवेशन सुरु हुनासाथ विधेयक संसद्मा टेबल गर्ने दाबी

काठमाडौं । वर्षौंदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा ऐन आउन नसक्नुको दोष राजनीतिक नेतृत्वमाथि लाग्दै आएका बेला  भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भने यसको जिम्मेवारी कर्मचारीतन्त्रमाथि नै थोपरेकी छन्। उनले ऐन जारी हुनै लागेको अवस्थामा विधेयक निर्माणमा संलग्न कर्मचारीहरूकै असहयोग र असमझदारीका कारण प्रक्रिया अवरुद्ध भएको आरोप लगाएकी छन्।

मन्त्री रावलले संघीय निजामती सेवा ऐन निर्माणमा राजनीतिक नेतृत्वभन्दा कर्मचारीहरूकै भूमिका बाधक बनेको दाबी गर्दै सरकारको प्रस्तावित अवधारणा र प्रावधानहरू कर्मचारीहरूबाटै सार्वजनिक गर्ने, त्यसलाई लिएर सञ्चारमाध्यममा विवाद सिर्जना गर्ने तथा सामाजिक सञ्जालमा ट्रोल गराउने काम भएको बताएकी हुन्।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) ले नवनियुक्त शाखा अधिकृतहरूको ४१औँ ब्याचका लागि आयोजना गरेको आधारभूत प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री रावलले ऐन निर्माणमा भइरहेको ढिलाइबारे कर्मचारी प्रशासनमाथि प्रश्न उठाइन्।

‘संघीय निजामती सेवा ऐन आउनै लागेको थियो। तर, विधेयक निर्माणमा संलग्न कर्मचारीहरूकै असहयोगका कारण रोकियो,’ उनले भनिन्, ‘यो ऐन वर्षौंदेखि आउन नसक्दा मन्त्री र राजनीतिक नेतृत्वलाई दोष दिने गरिएको छ। तर, मन्त्री भएपछि मेरो अनुभवले ऐन आउन नसक्नुमा कर्मचारीहरूकै भूमिका पनि उत्तिकै जिम्मेवार रहेको स्पष्ट भएको छ।’

उनले सरकारको नीतिगत दृष्टिकोण र प्रस्तावित व्यवस्थालाई विधेयकको औपचारिक प्रक्रियाभन्दा बाहिर लगेर सार्वजनिक गर्ने प्रवृत्तिले समस्या थपेको बताइन्। सरकारको अवधारणाका रूपमा रहेका विषयलाई अन्तिम निर्णय भइसकेजस्तो गरी बाहिर प्रचार गर्ने, त्यसमा विवाद र आलोचना सिर्जना गर्ने तथा सरकारलाई अप्ठ्यारोमा पार्ने काम भएको उनको आरोप थियो।

मन्त्री रावलका अनुसार विधेयकमा प्रस्तावित कतिपय प्रावधानलाई कर्मचारीहरूबाटै छरपस्ट पारेर सार्वजनिक गरियो। त्यसले विधेयक निर्माणको वातावरण बिगार्नुका साथै आफूलाई समेत असफल बनाउने प्रयास भएको उनको भनाइ थियो।

हिउँदे अधिवेशन सुरु हुनासाथ संसद्मा टेबल गर्ने दाबी

लामो समयदेखि अन्योलमा रहेको संघीय निजामती सेवा विधेयक अब भने संसद्बाट अघि बढ्ने मन्त्री रावलले दाबी गरेकी छन्। विधेयक संसद्मा दर्ता भइसकेको उल्लेख गर्दै उनले आगामी हिउँदे अधिवेशन सुरु हुनासाथ प्रतिनिधिसभामा टेबल गर्ने तयारी रहेको बताइन्।

उनको भनाइले ऐन निर्माण प्रक्रिया फेरि अघि बढ्ने संकेत गरे पनि विधेयकका विवादित प्रावधानमा राजनीतिक दल, कर्मचारी  र सरोकारवालाबीच सहमति जुट्ने विषय भने अझै महत्त्वपूर्ण देखिएको छ।

विशेषगरी कर्मचारीको अवकाश उमेर, सेवा अवधि, पेन्सन सुविधा, पदपूर्ति, वृत्ति विकास, संघ, प्रदेश र स्थानीय तहबीचको कर्मचारी व्यवस्थापन तथा प्रमुख प्रशासकीय अधिकृतको पदस्थापनजस्ता विषय विधेयकका पेचिला पक्षका रूपमा रहँदै आएका छन्।

मन्त्री रावलले ३०–५५ वर्षे सेवा अवधिको अवधारणा तथा पेन्सन कटौतीलगायतका विषय सरकारको नीतिगत दृष्टिकोण भएको स्पष्ट पारिन्। सरकारको अवधारणालाई कर्मचारीहरूले नै सार्वजनिक गरेर विवादित बनाएको उनको आरोप थियो।

कतिपय नयाँ  विषय सरकारको दृष्टिकोण हो। सरकारले कुनै विषयमा अवधारणा ल्याउँदैमा त्यसलाई कर्मचारीहरूले नै छरपस्ट पारेर विवादित बनाउनु उचित होइन,’ उनले भनिन्।

सरकारले अघि सारेका यस्ता नीतिगत प्रस्तावमा कर्मचारीहरूले आपत्ति जनाउन नहुने उनको आशय थियो। यद्यपि, विधेयक संसद्मा पुगेपछि यस्ता विषयमा सांसद र सरोकारवालाबीच हुने छलफल तथा निर्णयले नै अन्तिम रूप दिनेछ।

नयाँ अधिकृतलाई गुमेको साख फर्काउने चुनौती

मन्त्री रावलले निजामती प्रशासनले जनतासमक्ष आफ्नो विश्वास र साख गुमाउँदै गएको टिप्पणी गर्दै नयाँ पुस्ताका अधिकृतहरूलाई प्रशासनप्रतिको भरोसा पुनःस्थापित गर्ने जिम्मेवारी लिन आग्रह गरिन्।

उनले निजामती सेवालाई जागिर, पद, सुविधा र वृत्ति विकासमा मात्र सीमित नराखी देश र जनताको सेवामा समर्पित हुनुपर्ने बताइन्।

‘निजामती प्रशासनले जनतासमक्ष गुमाएको विश्वास तपाईंहरूले फर्काउनुपर्छ,’ नयाँ शाखा अधिकृतहरूलाई सम्बोधन गर्दै उनले भनिन्, ‘देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुस्। तपाईंहरूको व्यवहार र कार्यसम्पादनबाटै निजामती प्रशासनप्रतिको विश्वास पुनःस्थापित हुनुपर्छ।’

उनले कर्मचारीहरूले प्रचलित ऐन, नियम र कानुनको पूर्ण पालना गर्दै जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइन्। प्रशासनिक कामकारबाहीमा व्यक्तिगत स्वार्थ, पहुँच र सुविधाभन्दा सेवाग्राहीको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

सरुवा भएको ठाउँमा नजाने प्रवृत्तिप्रति मन्त्रीको असन्तुष्टि

मन्त्री रावलले निजामती प्रशासनमा सरुवा भएको स्थानमा जान नचाहने र काठमाडौं उपत्यकामै बस्न खोज्ने प्रवृत्ति गम्भीर समस्याका रूपमा रहेको बताइन्।

सरकारले आवश्यकताअनुसार कर्मचारी खटाउँदा पनि विभिन्न बहानामा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले दुर्गम तथा बाहिरी जिल्लामा सार्वजनिक सेवा प्रवाह प्रभावित भइरहेको उनको भनाइ थियो।

‘सकभर काठमाडौं उपत्यकामै बस्न पाए हुन्थ्यो भन्ने मानसिकता कर्मचारीमा देखिन्छ। बाहिर जिल्लामा गएर सेवा प्रवाह गर्न अनिच्छुक हुनु दुःखद हो,’ उनले भनिन्।

सरकारले कर्मचारीलाई खटाएको ठाउँमा जानैपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उनले सरुवा तथा पदस्थापनलाई व्यक्तिगत सुविधा र रोजाइसँग मात्र जोडेर हेर्न नहुने बताइन्।

राज्यले जहाँ आवश्यक ठान्छ, कर्मचारी त्यहीँ पुगेर सेवा दिनुपर्ने उनको जोड थियो। विशेषगरी स्थानीय तह र जिल्लास्तरमा कर्मचारी अभाव तथा सेवा प्रवाहमा देखिने समस्याको एउटा कारण कर्मचारीको पदस्थापन र सरुवाप्रतिको अनिच्छासमेत रहेको उनको संकेत थियो।

‘सिस्टममा चलाउन खोज्दा कर्मचारी आतंकित भए’

नयाँ सरकार गठन भएपछि कर्मचारी प्रशासन आतंकित भएको भन्ने प्रचारप्रति पनि मन्त्री रावलले असन्तुष्टि जनाइन्।

सरकारले कर्मचारीलाई अनावश्यक दबाब दिने नभई स्थापित प्रणाली, कानुन र जिम्मेवारीअनुसार काम गराउन खोजेको उनको दाबी थियो। तर, प्रशासनलाई व्यवस्थित र जवाफदेही बनाउन खोज्दा त्यसलाई कर्मचारी आतंकित भएको रूपमा व्याख्या गर्ने गरिएको उनले बताइन्।

सरकारले कर्मचारीलाई सिस्टममा रहेर काम गर्न आग्रह गर्नु अस्वाभाविक नभएको उल्लेख गर्दै उनले कर्मचारी प्रशासनले पनि परिवर्तन र सुधारलाई आत्मसात् गर्नुपर्ने धारणा राखिन्।

उनका अभिव्यक्तिले संघीय निजामती सेवा ऐन निर्माणको विषय केवल कानुन निर्माणको प्रक्रियामा सीमित नरहेको, बरु राजनीतिक नेतृत्व र स्थायी सरकार मानिने कर्मचारीतन्त्रबीचको विश्वास, समन्वय र कार्यशैलीसँग समेत जोडिएको देखाएको छ।

वर्षौंदेखि संघीय निजामती सेवा ऐनको प्रतीक्षामा रहेका कर्मचारी, प्रदेश सरकार र स्थानीय तहका लागि हिउँदे अधिवेशनमा विधेयक अघि बढ्ने मन्त्रीको प्रतिबद्धता महत्त्वपूर्ण छ। तर, ऐन ल्याउने विषयमा कर्मचारीलाई मात्र दोष दिएर पुग्दैन। संघीय संरचनाअनुकूल प्रशासनिक व्यवस्था, कर्मचारीको वृत्ति विकास, सेवा सुरक्षासहित जनउत्तरदायी प्रशासन निर्माण गर्ने विषयमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवै पक्ष जिम्मेवार हुनुपर्ने देखिन्छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार