ADVERTISEMENT

निर्यात ४३ प्रतिशतले बढ्दा पनि व्यापार घाटा ३० प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेको छ । निर्यात ४३.४८ प्रतिशतले वृद्धि भई १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगे पनि आयातको आकार ठूलो हुँदा व्यापार घाटा भने २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको आयात भएको थियो ।

निर्याततर्फ वनस्पति तथा पशुजन्य बोसो र तेलको हिस्सा सबैभन्दा बढी छ । कुल निर्यातको करिब ५१ प्रतिशत हिस्सा यही वस्तु समूहले ओगटेको छ । यस्तै, निर्यात बजारमा भारतको हिस्सा करिब ८४ प्रतिशत रहेको छ ।

आयाततर्फ सबैभन्दा बढी १ खर्ब ५७ अर्ब ५५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ भित्रिएको छ । सवारीसाधन, मेसिनरी, विद्युतीय उपकरण, फलाम तथा स्टिल र रासायनिक मलको आयात पनि उच्च देखिएको छ ।

देशगत व्यापारमा भारतसँग ३ खर्ब ४९ अर्ब ४९ करोड र चीनसँग १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ व्यापार घाटा भएको छ । अर्जेन्टिनासँग पनि ४२ अर्ब ९२ करोड रुपैयाँ घाटा रहेको छ ।

निर्यातको वृद्धिदर आयातभन्दा बढी भए पनि वस्तु तथा बजारको सीमित विविधीकरण र आयातको ठूलो आकारका कारण नेपालको व्यापार घाटा निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार