काठमाडौं । नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले दुर्गम तथा ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा व्यावसायिक मालवस्तु अनलाइन प्रणालीमा प्रविष्ट गर्न कठिनाइ हुने भन्दै अफलाइन विकल्पको व्यवस्था गर्न माग गर्नुभएको छ।
प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको छलफलका क्रममा उहाँले अनलाइनसँगै अफलाइन प्रणालीबाट पनि विवरण प्रविष्ट गर्न सकिने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
सांसद बुढाले कर अधिकृतले निर्धारण गरेको जरिवानाविरुद्ध पुनरावलोकन गर्न पाउने व्यवस्था गर्नुपर्ने र दुर्गम क्षेत्रमा घोडा, खच्चडलगायतका परम्परागत साधनबाट हुने मालवस्तु ढुवानीलाई पनि विधेयकले समेट्नुपर्ने धारणा राख्नुभयो।
उहाँले विधेयक निर्माण गर्दा राजस्व वृद्धि, करदाताको अधिकार, निजी क्षेत्रको लगानी, कर प्रशासनको पारदर्शिता र नागरिकको आर्थिक भारलाई ध्यानमा राख्दै भौगोलिक अवस्थाअनुकूल कानुनी व्यवस्था गर्न आग्रह गर्नुभयो।




प्रतिक्रिया