ADVERTISEMENT

सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले बेहोरेको क्षतिको पनि हिसाब गर्न सांसद झाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिँदा मधेसका पाँच जिल्लाका किसानले बेहोर्नुपरेको कृषि तथा आर्थिक क्षतिको समेत विस्तृत मूल्यांकन गर्न माग गर्नुभएको छ ।

संसदको सार्वजनिक लेखा समितिमा आयोजनाको ठेक्का रद्द गरिएको विषयमा भएको छलफलमा झाले सरकारको राजस्वमा भएको नोक्सानीको मात्र हिसाब गरेर नपुग्ने बताउनुभयो ।

उहाँले आयोजना ढिलाइ हुँदा सिँचाइ सुविधा नपाएका किसानले गुमाएको उत्पादन, आम्दानी र खेतीका अवसरको समेत मूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो । १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुगेको भए कति उत्पादन हुन्थ्यो र किसानले कति आम्दानी गर्न सक्थे भन्ने विषयमा अध्ययन हुनुपर्ने उहाँको भनाइ छ ।

झाले आयोजना रोक्ने निर्णयमा राजनीतिक पूर्वाग्रह भए–नभएको निष्पक्ष छानबिन गर्न पनि माग गर्नुभएको छ । सार्वजनिक लेखा समितिले किसानले बेहोरेको क्षतिसमेत समेटेर विस्तृत अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसैबीच, समितिका सभापति भरतबहादुर खड्काले आयोजनासम्बन्धी थप अध्ययन तथा छानबिनका लागि सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार