ADVERTISEMENT

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन, आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानमार्फत इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किएका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए। त्यसैगरी उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटसमेत गरेका थिए।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो।

भ्रमणका क्रममा भएका समझदारीले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै विकास, प्रविधि, सार्वजनिक प्रशासन र सेवा प्रवाहका क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्च सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी थिए।

दुईदिने भ्रमण सम्पन्न गरेर फर्किएका प्रधानमन्त्री शाहको भ्रमणलाई अब भएका समझदारीको प्रभावकारी कार्यान्वयन र त्यसबाट नेपालले प्राप्त गर्ने ठोस उपलब्धिका आधारमा मूल्यांकन गरिनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार