चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाउने काम तीव्र पारिएको छ । सडक दुईतर्फी सञ्चालनमा ल्याउने उद्देश्यले दुवैतर्फबाट उपकरण परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट लोडर तथा काठमाडौँतर्फबाट दुई एक्साभेटर, एक जेसीबी र एक लोडर परिचालन गरिएको छ ।
थप पहिरो नखसेमा दिउँसो १ बजेसम्म सडक सञ्चालनमा आउने अधिकारीले बताइन् । सो क्षेत्रमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन केही ढिलाइ भएको छ ।
राति १ बजे पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि बिहान ५ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा तिहार मनाउन घर जाँदै गरेका यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन् ।
घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर मलेखुतर्फ पर्दछ ।




प्रतिक्रिया