काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ जिम्मेवारी दिने सरकारको निर्णयप्रति नागरिक समूहले असन्तुष्टि जनाएको छ।
नागरिक समूहले प्रहरी नेतृत्व परिवर्तनको स्पष्ट कारण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थअनुकूल सञ्चालन गर्ने प्रवृत्ति लोकतान्त्रिक शासन व्यवस्थाका लागि उचित नभएको समूहको ठहर छ।
समूहका अध्यक्ष विष्णु हरि दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा प्रहरी सङ्गठन कुनै पनि राजनीतिक नेतृत्वको निजी सम्पत्ति नभएको उल्लेख गरिएको छ। प्रहरी नेतृत्व परिवर्तन गर्दा कानुनी प्रक्रिया, संस्थागत आवश्यकता र व्यावसायिक मर्यादालाई आधार बनाउनुपर्ने समूहले जनाएको छ।
सरकार परिवर्तनसँगै सुरक्षा निकायको नेतृत्वसमेत परिवर्तन गर्ने प्रवृत्तिले प्रहरी कर्मचारीको मनोबल र निष्पक्ष अनुसन्धानमा असर पार्ने समूहको चेतावनी छ।
नागरिक समूहले जिम्मेवारी हेरफेरको कानुनी तथा प्रशासनिक आधार सार्वजनिक गर्न र प्रहरी सङ्गठनको व्यावसायिक स्वायत्तता कायम राख्न सरकारको ध्यानाकर्षण गराएको छ।





प्रतिक्रिया