ADVERTISEMENT

प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्नुस् भन्दै नवनियुक्त आईजीपीले मागे कार्यगत स्वायत्तता

‘डर होइन, नागरिकले प्रहरी देख्दा भरोसा गर्ने वातावरण बनाउँछु’

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले प्रहरी संगठनलाई राजनीतिक तथा दलीय प्रभावबाट मुक्त राख्न सरकार र राजनीतिक दलसँग आग्रह गर्दै प्रहरीलाई आवश्यक कार्यगत स्वायत्तता दिनुपर्ने बताएका छन् ।

प्रहरी संगठनको व्यावसायिकता, निष्पक्षता र जनविश्वास कायम गर्न राजनीतिक हस्तक्षेपमुक्त वातावरण अपरिहार्य रहेको उल्लेख गर्दै उनले प्रहरीलाई कानुनअनुसार स्वतन्त्र र व्यावसायिक ढंगले काम गर्न सक्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा बोल्दै नवनियुक्त आईजीपी केसीले नागरिकले प्रहरीलाई देख्दा डर होइन, भरोसा महसुस गर्ने अवस्था निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको बताए ।

‘म नेपाल सरकारसँग आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तताको अपेक्षा गर्दछु । राजनीतिक दलहरूसँग पनि प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न सहयोगको विनम्र आग्रह गर्दछु,’ उनले भने ।

उनले आफ्नो कार्यकाललाई पद, प्रतिष्ठा र व्यक्तिगत उपलब्धिका आधारमा नभई नेपाली नागरिकलाई दिन सकेको सेवा र संगठनमा गर्न सकेको सुधारका आधारमा मूल्यांकन गरिनुपर्ने धारणा राखे ।

‘मैले के पाएँभन्दा पनि नेपाली जनतालाई के दिन सकेँ भन्ने आधारमा मेरो कार्यकालको मूल्यांकन होस् भन्ने चाहन्छु,’ उनले भने ।

जवान र हवल्दारका गुनासा सुन्न छुट्टै संयन्त्र

प्रहरी संगठनभित्रका समस्या र चुनौतीलाई नजिकबाट बुझेको उल्लेख गर्दै आईजीपी केसीले तल्लो तहका प्रहरी कर्मचारीका गुनासा, समस्या र असन्तुष्टि सम्बोधन गर्न विशेष संयन्त्र निर्माण गर्ने घोषणा गरेका छन् ।

विशेषगरी प्रहरी जवान र हवल्दारसहित आधारभूत तहका कर्मचारीले भोगिरहेका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने उनको भनाइ छ ।

‘आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीका गुनासा सुन्ने एउटा संयन्त्र सचिवालयमै प्राथमिकताका साथ सञ्चालन गर्नेछौँ,’ उनले भने ।

प्रहरी कर्मचारीको लामो कार्यघण्टा, पर्याप्त स्रोतसाधन र भौतिक पूर्वाधारको अभाव, सरुवा तथा बढुवामा निष्पक्षता र कर्मचारीको मानसिक स्वास्थ्यजस्ता विषयलाई पनि उनले सुधारका प्राथमिकतामा राखेका छन् ।

यी विषयलाई व्यक्तिगत वा तदर्थ निर्णयबाट नभई प्रणालीगत सुधारमार्फत समाधान गर्दै लैजाने उनको प्रतिबद्धता छ ।

प्रहरी संगठनको सबैभन्दा ठूलो पुँजी जनताको विश्वास

आईजीपी केसीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको मात्र नभई राज्यका सबै निकाय र नागरिकको साझा दायित्व भएको बताएका छन् ।

प्रहरी संगठनको एक्लो प्रयासले मात्रै पूर्ण शान्ति सुरक्षा कायम गर्न सम्भव नहुने भन्दै उनले सरकार, राजनीतिक दल, सञ्चारमाध्यम र आम नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

आधुनिक प्रहरी संगठनको सबैभन्दा ठूलो पुँजी जनतासँगको सम्बन्ध र विश्वास भएको उनको भनाइ छ ।

प्रहरीको काम कारबाहीमा पारदर्शिता, जवाफदेहिता र व्यावसायिकता कायम गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने दिशामा आफूले काम गर्ने उनले बताए ।

सञ्चारमाध्यमलाई कमजोरीसँगै राम्रा काम पनि उजागर गर्न आग्रह

नवनियुक्त आईजीपी केसीले प्रहरी संगठनका कमजोरी र त्रुटिलाई सञ्चारमाध्यमले उजागर गर्नु स्वाभाविक भए पनि संगठनले गरेका सकारात्मक काम र उपलब्धिलाई पनि उचित स्थान दिन आग्रह गरेका छन् ।

प्रहरीको सुधार र व्यावसायिकता अभिवृद्धिमा सञ्चार जगतको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले प्रहरी र सञ्चारमाध्यमबीच रचनात्मक सहकार्य आवश्यक रहेको बताए ।

दर्ज्यानी चिह्नलाई काँधमा थपिएको एउटा अलंकारका रूपमा मात्र नभई राज्य, नागरिक र सात दशक लामो इतिहास बोकेको प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी र भरोसाका रूपमा लिएको उनले बताए ।

प्रहरी संगठनभित्रको आन्तरिक सुधार, कर्मचारीको मनोबल अभिवृद्धि, राजनीतिक हस्तक्षेपबाट मुक्ति र नागरिकको विश्वास अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका नवनियुक्त आईजीपीका सामु अब ती घोषणालाई व्यवहारमा रूपान्तरण गर्ने चुनौतीसमेत रहेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार