काठमाडौं । नेपालीको महान् पर्व बडादशैँका विशेष दिन आजदेखि सुरु भएका छन्। नवरात्रको सातौँ दिन अर्थात् फूलपातीका अवसरमा आज घरघरमा फूलपाती भित्र्याउनुका साथै नवदुर्गामध्ये सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
दुर्गा पक्षको महत्वपूर्ण दिनका रूपमा लिइने फूलपातीमा दसैँघर तथा पूजा कोठामा विभिन्न फूल, पात र धार्मिक सामग्री भित्र्याउने परम्परा छ। वैदिक विधिअनुसार फूलपाती अपराह्नकालमा भित्र्याइन्छ। फूलपाती भित्र्याएसँगै दसैँको उल्लास र धार्मिक चहलपहल थप बढ्ने गर्दछ।
धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा आराधना गरिन्छ। प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत देवीले नष्ट गर्न सक्ने विश्वासका आधारमा यस स्वरूपलाई कालरात्रि भनिएको हो। विभिन्न पुराणमा कालरात्रि देवीलाई कृष्ण वर्णकी तथा भयंकर स्वरूप भएकी शक्तिशाली देवीका रूपमा वर्णन गरिएको छ।
नौ दिन, नवदुर्गाको विशेष आराधना
नवरात्रको पहिलो दिन असोज १५ गते घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौँको जमरा राखिएको थियो। सोही दिन नवदुर्गामध्ये पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना सुरु गरिएको हो।
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गरिएको थियो। आज सातौँ दिन कालरात्रि देवीको पूजा गरिँदै छ।
नवरात्रको आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने परम्परा छ। यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।
शक्ति, ऐश्वर्य र विद्याको कामना
नवरात्रका नौ दिन दसैँघर वा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। देवीको श्रद्धापूर्वक आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
यही विश्वासअनुसार वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। नवरात्रमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म उत्सव
नवरात्रका नौ दिन पूजा आराधना गरी तयार पारिएको जमरा र प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण तथा वितरण गर्ने परम्परा छ। विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै नेपालीले बडादशैँ मनाउँछन्।
यसरी धार्मिक आस्था, पारिवारिक मिलन, आपसी सद्भाव र सांस्कृतिक परम्परासँग जोडिएको बडादशैँ नेपाली समाजको प्रमुख पर्वका रूपमा मनाइन्छ। फूलपातीसँगै पर्वको रौनक थप बढ्ने भएकाले आजको दिनलाई दशैँका महत्वपूर्ण दिनमध्ये एक मानिन्छ।




प्रतिक्रिया