जापानको अनुदान सहयोगबाट विमानस्थलमा नयाँ एयर ट्राफिक कन्ट्रोल (एटीसी) टावर, प्रशासनिक तथा आवश्यक सुविधा भवन निर्माण गरिनेछ। यसका लागि नेपाल सरकार र जापान सरकारबीच ‘दि प्रोजेक्ट फर द इम्प्रुभमेन्ट अफ एयर ट्राफिक कन्ट्रोल फेसिलिटिज एट त्रिभुवन इन्टरनेसनल एयरपोर्ट’ परियोजनासम्बन्धी अनुदान सम्झौता भएको हो।
जापानले परियोजनाका लागि २ अर्ब ८५ करोड ३० लाख जापानी येन अर्थात् करिब २ अर्ब ७३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ। परियोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत कार्यान्वयन हुनेछ।
सम्झौताअनुसार नयाँ एटीसी टावर तथा सम्बन्धित पूर्वाधार निर्माण भएपछि त्रिभुवन विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सेवा थप सुरक्षित, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
अनुदान सहायतासम्बन्धी ‘एक्सचेन्ज अफ नोट्स’मा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन्। त्यस्तै, अनुदान सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मचुजाकीले हस्ताक्षर गरेका छन्।
नेपालमा हवाई यात्रु तथा अन्तर्राष्ट्रिय उडानको माग बढ्दै गएको अवस्थामा विमानस्थलको हवाई ट्राफिक व्यवस्थापन पूर्वाधारलाई आधुनिक बनाउने उद्देश्यले परियोजना अघि बढाइएको हो।





प्रतिक्रिया