ADVERTISEMENT

मुखमा प्रशासन सुधार, व्यवहारमा सरुवाको मनपरी ! सामान्य प्रशासन मन्त्री रावलको कार्यशैलीमाथि प्रश्नैप्रश्न

 खर्च कटौतीको नीति एकातिर, मन्त्रीकै मन्त्रालयको कार्यक्रम महँगो होटलमा अर्कोतिर !

काठमाडौं । सुशासन, प्रशासनिक सुधार र सेवा प्रवाहमा आमूल परिवर्तनको नारा दिएर सत्तामा पुगेको वर्तमान सरकारकै कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ। विशेषगरी भूमि व्यवस्था, सहकारी ,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री प्रतिभा रावलको कार्यशैलीलाई लिएर प्रशासनिक वृत्तमा असन्तुष्टि चुलिँदै गएको छ।

पुराना राजनीतिक दल र विगतका सरकारका बेथितिमाथि चर्को आलोचना गर्दै सुधारको प्रतिबद्धता व्यक्त गरेको नयाँ नेतृत्वबाट प्रशासनिक क्षेत्रमा अपेक्षित परिवर्तन देखिन नसकेको कर्मचारीहरूको गुनासो छ। उल्टै कर्मचारी सरुवामा देखिएको अस्थिरता, निर्णय गरेर पुनः फिर्ता लिने प्रवृत्ति, प्रदेश तथा स्थानीय तहमा प्रशासनिक नेतृत्वको अनिश्चितता र सरकारी खर्चमा मितव्ययिताको नीतिविपरीतका गतिविधिले मन्त्रालयको नेतृत्वमाथि नै प्रश्न खडा गरेका छन्।

मन्त्री रावल सार्वजनिक अभिव्यक्तिमा प्रशासन सुधार, कर्मचारीको जवाफदेहिता र सुशासनको विषय उठाउँदै आएकी छन्। काम नगर्ने कर्मचारीलाई नागरिकसमक्ष उभ्याउनेदेखि आफूलाई भावनामा बग्ने छुट नभएको अभिव्यक्तिसम्म उनले दिएकी छन्। तर, मन्त्रालयको दैनिक कार्यसम्पादन र निर्णय प्रक्रियामा भने ती प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन नसकेको कर्मचारीहरूको आरोप छ।

सहकारीका बचतकर्ताको रकम फिर्ता र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने विषयमा मन्त्रीको सक्रियता देखिए पनि सामान्य प्रशासनको मुख्य जिम्मेवारीअन्तर्गत पर्ने कर्मचारी व्यवस्थापन, प्रशासनिक स्थिरता र सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा अपेक्षित परिणाम देखिन नसकेको भन्दै आलोचना हुन थालेको हो।

मन्त्रालयको पछिल्लो कार्यशैलीमाथि उठेका पाँच गम्भीर प्रश्न यस्ता छन् :

 सरुवा गर्ने, फेरि निर्णय उल्ट्याउने ! कसको दबाबमा चल्छ मन्त्रालय ?

सामान्य प्रशासन मन्त्रालयमा पछिल्लो समय कर्मचारी सरुवाको निर्णय प्रक्रियामाथि नै प्रश्न उठ्न थालेको छ। हतारमा सरुवाको निर्णय गर्ने र केही समयमै त्यसलाई फिर्ता लिने वा रद्द गर्ने प्रवृत्तिले मन्त्रालयको निर्णय क्षमतामाथि प्रश्न सिर्जना गरेको छ।

कुनै स्पष्ट मापदण्ड र आधार सार्वजनिक नगरी कर्मचारीको सरुवा गर्ने अनि विवाद वा दबाब सिर्जना भएपछि निर्णय उल्ट्याउने कार्यले प्रशासनिक वृत्तमा अन्योल बढाएको कर्मचारीहरूको भनाइ छ।

सरुवा किन गरियो ? त्यसको आधार के थियो ? निर्णय रद्द गर्नुपर्ने अवस्था किन आयो ? र, यस प्रक्रियामा जिम्मेवार पदाधिकारीमाथि के कारबाही भयो ? यी प्रश्नको जवाफ मन्त्रालयले सार्वजनिक गर्न सकेको छैन।

सरुवामा भएको त्रुटि स्वीकार गरेर त्यसलाई सच्याउनु सकारात्मक हुन सक्छ। तर, निर्णय प्रक्रियामा कमजोरी गर्ने पदाधिकारीलाई जवाफदेही नबनाउने र विवादित निर्णयलाई चुपचाप उल्ट्याउने प्रवृत्तिले प्रशासनमा गलत सन्देश प्रवाह गर्छ।

सरुवा गर्ने अधिकारीलाई जवाफदेही नबनाउने, निर्णयको आधार सार्वजनिक नगर्ने र विवाद साम्य पार्न निर्णय फिर्ता लिने हो भने प्रशासन सुधारको नारा कसरी कार्यान्वयन हुन्छ ? अहिले मन्त्रालयको नेतृत्वले जवाफ दिनुपर्ने प्रश्न यही हो।

 प्रदेश र स्थानीय तहमा प्रशासनिक अस्थिरता, विकास निर्माणमै असर

सङ्घीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई सक्षम, स्थिर र प्रभावकारी प्रशासनिक संरचना उपलब्ध गराउनु सामान्य प्रशासन मन्त्रालयको प्रमुख दायित्व हो। तर, कर्मचारी व्यवस्थापनमा देखिएको अस्थिरताले प्रदेश र स्थानीय तहको प्रशासनिक कामकाज प्रभावित भएको गुनासो बढेको छ।

प्रदेशका सचिवहरूको सरुवामा समेत एकरूपता र निश्चित मापदण्ड देखिन नसकेको कर्मचारीहरूको भनाइ छ। कतिपय सचिव तीन महिनामै सरुवा हुने, कतिपय पाँच महिनामै फेरिने र कतिपय वर्षौंसम्म एउटै जिम्मेवारीमा रहने अवस्था देखिएको छ। केही कर्मचारीलाई दोहोर्‍याएर उही ठाउँमा पठाइएको छ भने विदेशबाट फर्किएका केही कर्मचारीलाई सिधै सङ्घीय मन्त्रालयका महत्त्वपूर्ण जिम्मेवारीमा ल्याइएको विषयले पनि सरुवा प्रणालीको मापदण्डमाथि प्रश्न उठाएको छ।

यसले कर्मचारी व्यवस्थापनमा संस्थागत आवश्यकता र कार्यसम्पादनभन्दा अन्य आधारले प्राथमिकता पाएको त होइन भन्ने प्रश्नसमेत उठाएको छ।अझ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको निरन्तर र आकस्मिक सरुवाले समस्या थपेको छ। पालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिइरहँदा योजना कार्यान्वयन, बजेट खर्च, ठेक्का व्यवस्थापन, प्रशासनिक निर्णय र नागरिकलाई प्रदान गरिने सेवामा प्रत्यक्ष असर पर्ने गरेको छ।

आर्थिक वर्षको महत्त्वपूर्ण समयमा प्रशासनिक नेतृत्व परिवर्तन हुँदा एउटा नेतृत्वले अघि बढाएको योजना अर्को नेतृत्वले निरन्तरता दिन नसक्ने अवस्था सिर्जना हुन्छ। नयाँ आउने कर्मचारीले परिस्थिति बुझ्दै र कार्यशैली मिलाउँदै गर्दा विकास निर्माण र सेवा प्रवाहको गति प्रभावित हुने जोखिम रहन्छ।

सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई स्थिर प्रशासनिक नेतृत्व चाहिन्छ। तर, मन्त्रालयकै निर्णयका कारण स्थानीय तहमा नेतृत्वको निरन्तरता सुनिश्चित हुन नसकेको हो भने त्यसको जिम्मेवारी कसले लिने ?

प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने भाषण गरेर मात्र सङ्घीयता बलियो हुँदैन। त्यसका लागि कर्मचारी व्यवस्थापनमा स्थिरता, स्पष्ट मापदण्ड र संस्थागत जवाफदेहिता आवश्यक पर्छ।

 भोटेकोशीका बाढीपीडितको जग्गा व्यवस्थापन अझै अनिर्णयमा

भूमि व्यवस्था मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी मन्त्री रावलको अर्को महत्त्वपूर्ण परीक्षा विपद् प्रभावित नागरिकको पुनःस्थापना हो। तर, भोटेकोशी बाढी तथा पहिरोबाट विस्थापित नागरिकको सुरक्षित बसोबासका लागि आवश्यक जग्गा व्यवस्थापनको विषय अझै टुङ्गोमा पुग्न सकेको छैन।

विपद्का कारण घरजग्गा गुमाएका र असुरक्षित अवस्थामा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुनःस्थापित गर्नु राज्यको प्राथमिक दायित्व हो। यसका लागि जग्गाको पहिचान, स्वामित्वको व्यवस्थापन, आवश्यक कानुनी प्रक्रिया र सम्बन्धित निकायबीच समन्वय गरेर काम अघि बढाउनुपर्ने हुन्छ।

तर, प्रभावित नागरिकको पुनःस्थापनासम्बन्धी विषय निर्णयको प्रतीक्षामै रहँदा उनीहरूको पीडा थप लम्बिएको छ।

सहकारीका बचतकर्ताको रकम फिर्ता र सुकुम्बासी व्यवस्थापनजस्ता विषयमा मन्त्रीको सक्रियता देखिए पनि विपद्का कारण घरबारविहीन भएका नागरिकको सुरक्षित बसोबासको विषय प्राथमिकतामा पर्न नसकेको गुनासो छ।

भूमि व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने मन्त्रालयले नै विपद् प्रभावितको जग्गासम्बन्धी समस्या समाधान गर्न नसक्ने हो भने उनीहरूले न्यायका लागि कहाँ जाने ?

विपद् प्रभावितका लागि जग्गा व्यवस्थापन कुनै प्रचारमुखी कार्यक्रम होइन, यो नागरिकको जीवन, सुरक्षा र पुनःस्थापनासँग जोडिएको संवेदनशील विषय हो। त्यसैले यसमा देखिएको ढिलाइको कारण र समाधानको समयसीमा मन्त्रालयले सार्वजनिक गर्न आवश्यक छ।

 खर्च कटौतीको नीति एकातिर, मन्त्रीकै मन्त्रालयको कार्यक्रम महँगो होटलमा अर्कोतिर !

सरकारले सरकारी खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिइरहेका बेला मन्त्री रावलकै मन्त्रालयअन्तर्गतको कार्यक्रमले भने महँगो होटलमा आवासीय कार्यशाला आयोजना गरेको पाइएको छ।

भूमि व्यवस्था, सहकारी , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमले चितवनको सौराहास्थित होटल ल्याण्डमार्कमा तीनदिने आवासीय कार्यशाला आयोजना गर्न लागेको हो।

कार्यक्रमका लागि सातै प्रदेशका प्रादेशिक कार्यक्रम सहयोग इकाइका निर्देशक, प्रदेश कार्यक्रम व्यवस्थापक तथा प्राविधिक सहायता क्षेत्रका कर्मचारीलाई मङ्सिर ७, ८ र ९ गते होटल ल्याण्डमार्कमा उपस्थित हुन पत्राचार गरिएको छ। त्यसैगरी, मङ्सिर १० गते पनि सोही होटलमा अर्को कार्यशाला आयोजना गर्ने तयारी गरिएको छ।

मन्त्रालय स्रोतका अनुसार कार्यक्रममा प्रत्येक प्रदेशका सम्बन्धित सचिव, सङ्घीय मामिला मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा अन्य सहभागी गरी करिब ५० देखि ५५ जनाको सहभागिता रहनेछ।

सरकारले खर्च कटौतीको नीति लिएको र अर्थ मन्त्रालयले बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमार्फत सरकारी गोष्ठी, सेमिनार तथा कार्यशालाहरू सम्भव भएसम्म सरकारी सभाहलमै सञ्चालन गर्न निर्देशन दिएको अवस्थामा यस्तो कार्यक्रम महँगो होटलमा राखिनुले प्रश्न उठाएको छ।

सरकारी खर्च घटाउने निर्देशन सरकारी कार्यालय र सामान्य कर्मचारीका लागि मात्रै हो कि मन्त्रालयका कार्यक्रम सञ्चालन गर्ने उच्च अधिकारीहरूका लागि पनि हो ? प्रश्न स्वाभाविक छ।

एकातिर सामान्य कर्मचारीलाई खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिने, अर्कोतिर सरकारी कार्यक्रमका नाममा महँगा होटलमा आवासीय कार्यक्रम सञ्चालन गर्ने प्रवृत्तिले सरकारको नीतिगत प्रतिबद्धतामाथि नै प्रश्न उठाउँछ।

कार्यशाला आवश्यक नै छैन भन्ने होइन। प्रदेश तथा स्थानीय तहको शासन सबलीकरणका लागि यस्ता कार्यक्रम उपयोगी हुन सक्छन्। तर, त्यसका लागि महँगो होटल नै किन आवश्यक पर्‍यो ? सरकारी सभाहल वा कम खर्चिलो विकल्प किन रोजिएन ? त्यसमा लाग्ने कुल खर्च कति हो ? सार्वजनिक गर्नुपर्ने विषय हुन्।

मन्त्रालयका उच्च अधिकारीहरूका लागि सुविधायुक्त आवासीय कार्यक्रम र तल्लो तहका कर्मचारीका लागि खर्च कटौतीको निर्देशन मात्रै हो भने मितव्ययिताको नीतिको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो।

भाषणमा सुधार, व्यवहारमा पुरानै प्रवृत्ति !

वर्तमान नेतृत्वले पुराना सरकार र राजनीतिक दलका कमजोरी औँल्याएर मात्रै आफ्नो जिम्मेवारी पूरा हुँदैन। विगतमा भएका बेथितिको आलोचना गर्नु जति सहज छ, त्यसको विकल्पमा पारदर्शी, जवाफदेही र परिणाममुखी प्रशासन निर्माण गर्नु त्यसभन्दा कठिन काम हो।

मन्त्री रावलले सम्हालेको मन्त्रालय सामान्य प्रशासनको जिम्मेवारीका हिसाबले निकै महत्त्वपूर्ण छ। सङ्घीय निजामती प्रशासनको व्यवस्थापन, कर्मचारी परिचालन, प्रदेश तथा स्थानीय तहमा जनशक्ति व्यवस्थापन र सेवा प्रवाहको प्रभावकारितामा यस मन्त्रालयको निर्णयले प्रत्यक्ष प्रभाव पार्छ।

त्यसैले मन्त्रीको सफलता भाषणमा व्यक्त गरिएका प्रतिबद्धताबाट होइन, प्रशासनमा देखिएको सुधार, निर्णय प्रक्रियाको पारदर्शिता, कर्मचारी व्यवस्थापनको स्थिरता र नागरिकले पाएको सेवाबाट मापन हुनुपर्छ।

सरुवामा मनलाग्दी भएको आरोप लागिरहने, निर्णय गरेर फिर्ता लिने क्रम नरोकिने, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको स्थिरता कायम नहुने, विपद् प्रभावितको जग्गा व्यवस्थापन अलपत्र पर्ने र सरकारी खर्च कटौतीको नीतिविपरीत महँगा होटलमा कार्यक्रम सञ्चालन हुने हो भने सुधारको नारा व्यवहारमा कसरी स्थापित हुन्छ ?

विगतका सरकारलाई गाली गरेर वर्तमानको कमजोरी ढाकछोप गर्न सकिँदैन। पुरानाले गल्ती गरे भनेर नयाँ नेतृत्वलाई गल्ती गर्ने छुट पनि हुँदैन।

प्रशासन सुधारको नारा लगाउनेले पहिले आफ्नै मन्त्रालयको कार्यशैली सुधारेर देखाउनुपर्छ। मन्त्रीको जिम्मेवारी भाषण दिनु मात्रै होइन, निर्णयको परिणामप्रति जवाफदेही बन्नु पनि हो।

अहिले सामान्य प्रशासन मन्त्रालयसँग कर्मचारी र नागरिक दुवैको अपेक्षा एउटै छ– सरुवामा स्पष्ट मापदण्ड, प्रशासनमा स्थिरता, निर्णयमा पारदर्शिता र सेवा प्रवाहमा सुधार। यी अपेक्षा पूरा गर्न नसक्ने हो भने सुधारको नारा र व्यवहारबीचको दूरी अझै बढ्दै जानेछ।

  1.  

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार