ADVERTISEMENT

अम्बे मोबाइलको व्यापार ७७ करोडमा झर्‍यो


काठमाडौं । मोबाइल वितरक कम्पनी अम्बे मोबाइलको व्यापार निरन्तर घट्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा कम्पनीको व्यापार ७७ करोड रुपैयाँमा सीमित भएको छ ।

कम्पनीले सन् २०२४ मा १ अर्ब १९ करोड १० लाख र सन् २०२५ मा ८५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । गत आवमा व्यापार अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले घटेको हो ।

लाभा, बेन्को र डोजी ब्रान्डका मोबाइल बिक्री गर्दै आएको कम्पनीका अनुसार स्मार्टफोनको व्यापारमा ४३ प्रतिशतले गिरावट आएको छ । सीमित स्मार्टफोन सेग्मेन्ट र आपूर्तिकर्ताबाट सामानको ढुवानीमा भएको ढिलाइका कारण कारोबार प्रभावित भएको कम्पनीले जनाएको छ ।

यद्यपि, फिचर फोनको व्यापार भने गत आवमा १६ प्रतिशतले बढेको छ । कम्पनीको कुल कारोबारमा फिचर फोनको हिस्सा ७७ प्रतिशत रहेको छ ।

व्यापार घटे पनि कम्पनीको वित्तीय सूचकमा सुधार देखिएको छ । ब्याज कभरेज अनुपात १.८ गुणाबाट बढेर ७.४ गुणा पुगेको छ भने सञ्चालन नाफा ४.१ प्रतिशतबाट बढेर ५.४ प्रतिशत पुगेको छ ।

सन् २०१५ मा स्थापना भएको अम्बे मोबाइल नेपालका लागि लाभा र बेन्को ब्रान्डको आधिकारिक वितरक हो । कम्पनीका देशभर ४६ वटा खुद्रा स्टोर तथा सर्भिस सेन्टर सञ्चालनमा छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार