काठमाडौं । युक्रेनले रुसले आफ्नो ऊर्जा तथा नागरिक पूर्वाधारमा आक्रमण गरे रुसी ऊर्जा क्षेत्रमा जवाफी हमला तीव्र बनाउने चेतावनी दिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आगामी जाडोयाममा युक्रेनको ऊर्जा, यातायात, विद्यालय र अस्पताललगायतका पूर्वाधारलाई निशाना बनाउन सक्ने दाबी गरेका छन्। उनका अनुसार त्यसको जवाफमा युक्रेनले विशेषगरी रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्ने तयारी गरेको छ।
जेलेन्स्कीले युक्रेनले लामो दूरीमा प्रहार गर्न सक्ने नयाँ क्षेप्यास्त्र विकास गरिरहेको पनि बताएका छन्। उनका अनुसार एफपी–७ क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरीसम्म प्रहार गर्न सक्षम छ भने थप लामो दूरीको एफपी–९ विकास भइरहेको छ।
यसैबीच, युक्रेनले रुसी हवाई आक्रमण रोक्न ड्रोन, विद्युतीय जामिङ प्रणाली तथा साना वायु रक्षा क्षेप्यास्त्रको विकास तीव्र बनाएको जनाएको छ। जाडोयाममा रुसले ऊर्जा पूर्वाधारमाथि ठूलो आक्रमण गर्न सक्ने आशंकाबीच युक्रेनले आफ्नो प्रतिरक्षा क्षमता बढाइरहेको हो।
जेलेन्स्कीले रुस शान्ति वार्ताका लागि गम्भीर रहेको पर्याप्त संकेत नदेखिएको बताएका छन्। उनले युद्ध अन्त्य नभएसम्म रुससँग सम्बन्ध सामान्यीकरण नगर्न अमेरिकालाई आग्रह गर्दै शान्ति वार्ताका लागि आफू तयार रहेको बताएका छन्।




प्रतिक्रिया