काठमाडौं । अमेरिकाले नेभाडा नेसनल सेक्युरिटी साइटमा भूमिगत ठूलो विस्फोट परीक्षण गरेको छ। परमाणु बम प्रयोग नगरिएको उक्त परीक्षणमा शक्तिशाली रासायनिक विस्फोटक प्रयोग गरी त्यसबाट उत्पन्न कम्पन, ध्वनि तथा अन्य सङ्केत रेकर्ड गरिएको थियो।
जमिनभन्दा करिब ९०० फिट तल गरिएको परीक्षणको मुख्य उद्देश्य भूमिगत सानो वा कमजोर सङ्केत दिने सम्भावित परमाणु विस्फोट पहिचान गर्ने क्षमता बढाउनु रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
वैज्ञानिकहरूले विस्फोटबाट प्राप्त तथ्याङ्कका आधारमा कम्प्युटर मोडल तथा परमाणु विस्फोट निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनेछन्। विशेषगरी विस्फोटको प्रभावलाई कमजोर बनाउने भनिएको ‘डिकपलिङ’ प्रविधि प्रयोग गरिएका घटनासमेत पहिचान गर्न परीक्षण केन्द्रित रहेको छ।
यो परीक्षण अमेरिकाले चीनमाथि गोप्य परमाणु परीक्षण गरेको आरोप लगाउँदै आएको पृष्ठभूमिमा भएको हो। अमेरिकाले सन् २०२० मा चीनको सिन्जियाङस्थित लोप नुर परीक्षण केन्द्रमा भूमिगत परमाणु परीक्षण भएको आरोप लगाएको थियो। चीनले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।
व्यापक परमाणु परीक्षण प्रतिबन्ध सन्धि सङ्गठन (CTBTO) ले पनि त्यस समयमा निगरानी नेटवर्कमा परमाणु परीक्षणको स्पष्ट प्रमाण नभेटिएको जनाएको थियो।



प्रतिक्रिया