ADVERTISEMENT

अष्ट्रेलियामा ब्याजदर १५ वर्षकै उच्च


काठमाडौँ । अष्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए) ले मुद्रास्फीति नियन्त्रण गर्न प्रमुख ब्याजदर २५ आधार अंकले बढाएर ४.६ प्रतिशत पुर्‍याएको छ। यो सन् २०११ यताकै उच्च ब्याजदर हो।

आरबीएले यस वर्ष चौथोपटक ब्याजदर वृद्धि गरेको हो। बैंकका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा परेको असरले तेल तथा इन्धनको मूल्य बढ्नुका साथै अन्य वस्तु तथा सेवाको मूल्यमा समेत दबाब बढेको छ।

त्यसैगरी, कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको तीव्र लगानी र मागले प्रविधिसम्बन्धी वस्तुको मूल्य बढाएको आरबीएको निष्कर्ष छ। घरेलु अर्थतन्त्रमा पनि उत्पादन तथा सेवा लागत बढेकाले व्यवसायहरूले उपभोक्तासम्म त्यसको भार पुर्‍याउन थालेका छन्।

यद्यपि, ब्याजदर वृद्धिसँगै अष्ट्रेलियाको अर्थतन्त्रमा केही कमजोर संकेत देखिएका छन्। प्रमुख सहरहरूमा घरको मूल्य घट्नुका साथै नयाँ आवास कर्जा र उपभोक्ता खर्चको वृद्धिसमेत सुस्त हुँदै गएको आरबीएले जनाएको छ।

बैंकले मुद्रास्फीति नियन्त्रणका लागि वित्तीय अवस्था कडा बनाउने नीति जारी राख्ने जनाएको छ। लामो समयसम्म ऊर्जा मूल्य उच्च रहेमा मुद्रास्फीति थप बढ्नुका साथै आर्थिक गतिविधिमा समेत दबाब पर्न सक्ने आरबीएको आकलन छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार