काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनका लागि तयार पारिरहेको निर्वाचन निर्देशिकामा १८ देखि २८ वर्ष उमेर समूहका युवालाई सबै तहका कार्यसमितिमा अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था प्रस्ताव गरेको छ।
प्रस्तावित निर्देशिकाअनुसार केन्द्रदेखि वडा तहसम्मका निर्वाचित कार्यसमितिमा एक जना महिला र एक जना पुरुष गरी दुई जना नवयुवाको सहभागिता अनिवार्य गरिनेछ। समावेशी क्लस्टरबाट निर्वाचित हुने प्रतिनिधिमा पनि सम्भव भएसम्म एक जना महिला र एक जना पुरुष नवयुवा समावेश गर्नुपर्ने व्यवस्था राखिएको छ।
१८ देखि २८ वर्ष उमेर समूहका नवयुवा उपलब्ध नभए अन्य उमेर समूह वा समूहबाट पदपूर्ति गर्न सकिने व्यवस्था पनि निर्देशिकामा गरिएको छ। साथै, विषयविज्ञ आवश्यक पर्ने स्थानमा विषयविज्ञको सहभागिता अनिवार्य गर्ने प्रस्ताव गरिएको छ।
एकराज पोख्रेल संयोजक रहेको केन्द्रीय निर्वाचन समितिले निर्देशिकालाई शनिबार अन्तिम रूप दिने तयारी गरेको जनाएको छ। इतर समूहले १५ असोजमा देशभर वडा अधिवेशन गर्ने तयारीसमेत गरेको छ।

प्रतिक्रिया