नारायणीको बाढीमा सुस्ताबाट २९ जनाको उद्धार


काठमाडौं । नारायणी नदीको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारुटोल डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जनाको उद्धार गरेको छ।

अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि थारुटोलमा पानी पसेको थियो। बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा २१ जनाको उद्धार टोली परिचालन गरिएको थियो।

टोलीले डुबानमा परेका २९ स्थानीयसहित एक गाई र १३ बाख्रालाई सुरक्षित स्थानमा सारेको छ। उद्धार गरिएका स्थानीय तथा चौपायालाई सुस्ता–५ स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।

यसअघि बाढीका कारण थारुटोलका १६५ घर प्रभावित भएका थिए। ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो भने सैनिक टोल र बड्का टोलका थप ८५ परिवारलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।

नारायणीको जलस्तर बढिरहेको र सुस्ताका अन्य बस्तीसमेत जोखिममा रहेको स्थानीयले बताएका छन्। निर्माणाधीन तटबन्धको १३२ मिटर भाग अझै निर्माण हुन बाँकी रहेकाले नदी कटानको जोखिम रहेको जनाइएको छ। बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार कार्य जारी छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार