असोज ९ देखि ११ सम्म ‘अत्यधिक जोखिम’ !हावाहुरीसँगै भारीदेखि अति भारी वर्षाको चेतावनी

 यातायात रोक्न मौसमविद्को सुझाव


सागर पण्डित,काठमाडौं ।

असोज ९ देखि ११ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै मौसम तथा जलवायु विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले तत्काल प्रभावकारी पूर्वतयारी र प्रतिकार्य योजना कार्यान्वयन गर्नुपर्ने उनीहरूको सुझाव छ।

जल तथा मौसम विज्ञान विभागले पनि असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा  अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। मधेश, कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा कर्णालीमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय, सहरी तथा तराई क्षेत्रमा डुबान, नदीमा जलसतह बढ्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने विभागको चेतावनी छ।

तीन दिन विशेष सतर्कता अपनाउन आग्रह

जलवायु विज्ञ उज्ज्वल उपाध्यायका अनुसार असोज ९ गतेदेखि ११ गते बिहानसम्मको अवधि विशेष जोखिमपूर्ण हुन सक्ने देखिएको छ। उनका अनुसार भारततर्फ ७० देखि १०० किलोमिटर प्रतिघण्टासम्मको हावाहुरीसहित वर्षा हुने अवस्था बनेमा त्यसको प्रभाव नेपालमा प्रवेश गर्दा पनि तीव्र हावा र भारी वर्षाका रूपमा देखिन सक्छ।

नेपालमा यसको प्रभाव २०–३०  किलोमिटर प्रतिघण्टासम्मको हावाको गति र तीव्र वर्षाका रूपमा देखिन सक्ने उनको विश्लेषण छ।

यस्तो अवस्थामा जोखिम केवल सामान्य वर्षा वा बाढीमा सीमित नहुने भन्दै उपाध्यायले रुख, विद्युत् संरचना, कमजोर भवन, अस्थायी संरचना तथा सडक पूर्वाधारमा समेत क्षति पुग्न सक्नेतर्फ सचेत गराएका छन्।

उनका अनुसार विशेषगरी लुम्बिनी, कर्णाली, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशमा जोखिम बढी देखिन सक्छ।

पोखरा र दाङ उपत्यका बढी जोखिममा

जलवायु विज्ञ उपाध्यायले पोखरा र दाङ उपत्यकामा विशेष जोखिम हुन सक्ने बताएका छन्।

गण्डकी प्रदेशको पोखरा उपत्यकामा भारी वर्षा हुन सक्ने तथा लुम्बिनी तर्फ दाङ उपत्यका पनि प्रभावित हुन सक्ने उनको विश्लेषण छ।

त्यसैगरी डोरपाटन, रुकुम, रोल्पा, बाँके, बर्दिया, अर्घाखाँची र टीकापुर आसपास पनि उच्च जोखिममा पर्न सक्ने उनले बताएका छन्।

उनका अनुसार मध्य तथा मध्यपूर्वी तराईबाट प्रणाली नेपाल प्रवेश गर्दा त्यसको प्रभाव विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली क्षेत्रमा बढी पर्न सक्ने सम्भावना छ।

‘अत्यधिक जोखिमको समयमा यातायात रोक्दा राम्रो’

सम्भावित जोखिमलाई ध्यानमा राख्दै उपाध्यायले असोज ९ गतेदेखि ११ गते बिहानसम्म लामो दूरी तथा जोखिमयुक्त क्षेत्रमा यातायात सञ्चालन रोक्ने वा कडाइका साथ नियमन गर्नेतर्फ सरकारले विचार गर्नुपर्ने सुझाव दिएका छन्।

विशेषगरी पहाडी तथा नदी–खोल्साको आसपासबाट जाने सडक, पहिरोको जोखिम भएका राजमार्ग र डुबान सम्भावित क्षेत्रमा यातायात सञ्चालनलाई मौसमको अवस्थासँग जोडेर निर्णय गर्नुपर्ने उनको सुझाव छ।

उनका अनुसार जोखिमको समयमा मानिसको अनावश्यक आवतजावत रोक्न सके सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ।

सरकारलाई पूर्वतयारीमै जोड दिन आग्रह

सम्भावित विपद्लाई मौसम बिग्रिएपछि मात्रै व्यवस्थापन गर्नेभन्दा पूर्वसूचना, उद्धार टोली, सुरक्षाकर्मी, स्वास्थ्य सेवा, एम्बुलेन्स, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्थापन पहिल्यै गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

विशेषगरी उच्च जोखिममा रहेका जिल्लामा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रबीच तत्काल समन्वय गरी पूर्वतयारी तथा प्रतिकार्य योजना सक्रिय बनाउनुपर्ने देखिएको छ।

नदी किनार, पहिरोको जोखिम भएका बस्ती, डुबान सम्भावित तराई क्षेत्र तथा कमजोर संरचना भएका ठाउँमा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न सकिने गरी स्थानीय प्रशासनलाई तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ।

हिमाली क्षेत्रमा पनि उच्च जोखिम

जल तथा मौसम विज्ञान विभागले हिमाली क्षेत्रमा समेत भारी वर्षा र हिमपात हुन सक्ने जनाएको छ। विभागले दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र बाजुरा लगायतका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

हिमाली क्षेत्रमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

जोखिमयुक्त क्षेत्रमा के–के हुन सक्छ ?

सम्भावित मौसम प्रणालीका कारण मुख्यतः—

  • भारीदेखि अति भारी वर्षा
  • तीव्र हावाहुरी र मेघगर्जन
  • चट्याङको जोखिम
  • अचानक बाढी तथा नदीमा जलसतह वृद्धि
  • पहिरो र भू–क्षय
  • तराई तथा सहरी क्षेत्रमा डुबान
  • सडक तथा राजमार्ग अवरुद्ध
  • हवाई उडान प्रभावित
  • कमजोर संरचना तथा विद्युत् पूर्वाधारमा क्षति
  • हिमाली क्षेत्रमा भारी हिमपात

जस्ता जोखिम देखिन सक्ने विभागको पूर्वानुमान छ।

‘पूर्वसूचना पाएर पनि क्षति हुनु हुँदैन’

मौसमको अवस्था पूर्ण रूपमा नियन्त्रण गर्न नसकिने भए पनि पूर्वसूचना र पूर्वतयारीमार्फत मानवीय क्षति घटाउन सकिने भएकाले अहिले नै राज्य संयन्त्र परिचालन गर्नुपर्ने आवश्यकता देखिएको छ।

विशेषगरी गृह प्रशासन, स्थानीय प्रशासन, सुरक्षा निकाय, सडक विभाग, स्वास्थ्य संयन्त्र तथा स्थानीय तहले उच्च जोखिम भएका क्षेत्रमा पूर्वतयारी, उद्धार सामग्री र जनशक्ति परिचालनको अवस्था परीक्षण गर्नुपर्ने देखिन्छ।

जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्बन्धी अत्यावश्यक जानकारीका लागि टोल–फ्री नम्बर ११५५ समेत उपलब्ध गराएको छ।

असोज ९ देखि ११ गतेसम्मको जोखिमलाई सामान्य मौसमी परिवर्तनका रूपमा मात्र नलिई सम्भावित विपद्को पूर्वअभ्यासका रूपमा लिएर राज्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्नु अहिलेको मुख्य आवश्यकता देखिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार