सिड्नी फेरी कर्मचारीको आन्दोलन, भाडा नलिने घोषणा


क्यानबेरा । अस्ट्रेलियाको सिड्नीमा फेरी कर्मचारीहरू तलब वृद्धि र कामको अवस्थासम्बन्धी माग राख्दै औद्योगिक आन्दोलनमा उत्रिएका छन्। Maritime Union of Australia (MUA) का सदस्यहरूले सेप्टेम्बर ११ देखि अक्टोबर ६ सम्म सिड्नी फेरीमा भाडा संकलन नगर्ने घोषणा गरेका छन्। युनियनका अनुसार उक्त अवधिमा फेरीका ओपल कार्ड रिडर बन्द गरी भाडा संकलन तथा प्रमाणीकरण नगर्ने भएकाले यात्रुले निःशुल्क यात्रा गर्न पाउनेछन्।

आन्दोलनबाट सर्वसाधारणलाई कम असर पार्दै रोजगारदातामाथि दबाब सिर्जना गर्ने उद्देश्य रहेको युनियनले जनाएको छ। तर Transport for NSW ले यात्रुले नियमित रूपमा भाडा तिर्नुपर्ने स्पष्ट पारेको छ। यात्रुले ओपल कार्ड वा कन्ट्याक्टलेस माध्यमबाट ट्याप अन र ट्याप अफ गर्नुपर्ने तथा ओपल रिडर सञ्चालनमै रहने सरकारी सूचनामा उल्लेख छ।

फेरी कर्मचारी र निजी सञ्चालक कम्पनी Transdev बीच नयाँ रोजगारी सम्झौताका विषयमा लामो समयदेखि वार्ता चलिरहेको छ। युनियनले ५ प्रतिशत तलब वृद्धि र त्यसपछि मुद्रास्फीतिअनुसार वार्षिक वृद्धि माग गरेको छ भने ट्रान्सडेभले वार्ताका क्रममा ३.३ प्रतिशत वार्षिक वृद्धि प्रस्ताव गरेको बताइएको छ।

औद्योगिक कारबाहीका कारण केही फेरी सेवा प्रभावित हुने भएका छन्। सेप्टेम्बर १२ र १३ मा प्यारामट्टा रिभरको एफ३ सेवा सञ्चालन नगर्ने निर्णय गरिएको थियो। अन्य सेवामा पनि ढिलाइ, रद्द वा समय परिवर्तन हुन सक्ने भन्दै सरकारले यात्रुलाई यात्रा गर्नुअघि रुट र समयबारे जानकारी लिन आग्रह गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार