कृष्णभीर खुलेसँगै ग्यास आपूर्ति सहज, पुरानै मूल्यमा पाइने


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा नयाँ डाइभर्सन सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज हुने भएको छ।

सडक खुलेपछि उपत्यका केन्द्रित ग्यास उद्योगमा ग्यास बोकेका बुलेट सिधै पुग्न थालेका छन्। शुक्रबारदेखि काठमाडौँ, धादिङ र काभ्रेलाई केन्द्र बनाएर सञ्चालित २० उद्योगले आफ्नै बोटलिङ तथा रिफिलिङ प्लान्टबाट सिलिण्डर भरेर बजारमा पठाउने भएका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा थपिएको प्रतिसिलिण्डर १ सय ५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च हटाइएको छ। अब उपभोक्ताले साबिककै २ हजार ६० रुपैयाँ मा नजिकको बिक्रेताबाट ग्यास पाउनेछन्।

नेपाल आयल निगमले उपत्यकामा दैनिक ५० हजारदेखि ६० हजारभन्दा बढी सिलिण्डर आपूर्ति गर्ने तयारी गरेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतबाट थप ग्यास आयात बढाउने तथा १६० वटा नयाँ ग्यास बुलेट ल्याउने तयारीसमेत भइरहेको छ।

निगमले आगामी ५ देखि ७ दिनभित्र उपत्यकाको ग्यास आपूर्ति अवस्था सामान्य हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार