भारतको रोकपछि नेपाली चिनीको मूल्य किलोमै २१ रुपैयाँ बढ्यो


काठमाडौँ। भारतले चिनी निकासीमा रोक लगाएपछि नेपाली चिनी उद्योगले चिनीको मूल्य प्रतिकिलो २१ रुपैयाँसम्म बढाएको पाइएको छ।

भारतले गत चैत अन्तिम साता अर्को सूचना जारी नभएसम्म चिनी निकासीमा रोक लगाएपछि नेपालका चिनी उद्योगले मूल्य बढाउन थालेका हुन्। त्यसअघि उद्योगबाट भ्याटबाहेक प्रतिकिलो ८६ रुपैयाँमा बिक्री हुँदै आएको चिनी पछिल्लो समय १०७ रुपैयाँसम्म पुगेको छ।

पूर्वको एक मात्र चिनी उद्योग इष्ट्रन सुगर मिलले पछिल्लो पटक काठमाडौँका व्यापारीलाई प्रतिकिलो १०७ रुपैयाँमा करिब ६०० क्विन्टल चिनी बिक्री गरेको जनाएको छ। उद्योगले यस वर्ष उत्पादन गरेको १ लाख ७४ हजार क्विन्टल चिनी सबै बिक्री गरिसकेको छ।

उद्योग स्रोतका अनुसार भारतको निकासी रोकिएपछि मुलुकभरका चिनी मिलले बजारमा अभावको अवस्था सिर्जना भएको भन्दै प्रतिकिलो २१ देखि २५ रुपैयाँसम्म मूल्य बढाएका छन्। यसबीच काठमाडौँमा खुद्रा चिनीको मूल्य प्रतिकिलो १४० देखि १५० रुपैयाँसम्म पुगेको छ भने विराटनगरमा १२० रुपैयाँ आसपास पुगेको छ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनले स्थानीय उद्योगबाट भ्याटबाहेक प्रतिकिलो ८५ रुपैयाँमा खरिद गरेको चिनी भ्याटसहित १०२ रुपैयाँमा बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। कोशी प्रदेशमा साल्ट ट्रेडिङसँग ५ हजार ५२५ क्विन्टल चिनी मौज्दात रहेको र थप २ हजार ६२५ टन चिनी कर्नाटकबाट आउँदै गरेको जनाइएको छ।

नेपालमा वार्षिक करिब २ लाख ५० हजार टन चिनी खपत हुने गरेकोमा स्वदेशी उद्योगले करिब १ लाख ९० हजार टन उत्पादन गर्दै आएका छन्। बाँकी माग आयातबाट पूर्ति हुँदै आएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार