भोटेकोशी बाढीको कारण खोज्न सात सदस्यीय विज्ञ समिति गठन


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको वास्तविक कारण र उत्पत्तिस्थल पत्ता लगाउन सरकारले सात सदस्यीय विज्ञ समिति गठन गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद्, हिमनदी विज्ञ, रिमोट सेन्सिङ विशेषज्ञ, भूगर्भविद्, जलविद्युत् पूर्वाधार तथा विपद् जोखिम न्यूनीकरण विज्ञ छन्।

समितिले बाढीको सम्भावित उद्गमस्थलदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गर्नेछ। चट्टान तथा भूभागको अस्थिरता, पहिरो, हिमनदी, नदीको बहाव, अवसाद तथा वर्षा र तापक्रमलगायत पक्षको अध्ययन गरिने मन्त्रालयले जनाएको छ।

बाढीलाई एउटै कारणबाट भएको सामान्य घटना नभई सम्भावित ‘श्रृंखलाबद्ध विपद्’ का रूपमा अध्ययन गरिनेछ। साथै, जलवायु परिवर्तनले घटनाका लागि आवश्यक पूर्वअवस्था वा जोखिम बढाउन कति भूमिका खेलेको थियो भन्ने विषय पनि वैज्ञानिक प्रमाणका आधारमा परीक्षण गरिनेछ।

सीमापार नदी प्रणाली भएकाले चीनतर्फ उपलब्ध जलवैज्ञानिक तथा वैज्ञानिक तथ्यांकसमेत अध्ययनमा समेटिनेछ। बाढीबाट क्षति पुगेका ऊर्जा पूर्वाधारको सुरक्षा र भविष्यमा यस्ता जोखिम न्यूनीकरणका उपायसमेत अध्ययनको विषय हुनेछ।

समितिलाई दुई महिनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ। प्रतिवेदनका आधारमा बाढीको उत्पत्ति, भौतिक प्रक्रिया र घटनाको प्रकृतिबारे वैज्ञानिक निष्कर्ष निकालिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार