मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल : एमाले


काठमाडौं । नेकपा एमालेले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण र सहज आपूर्ति व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले बुधबार प्रेस नोट जारी गर्दै जनतालाई राहत दिनुको सट्टा सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीति गरिरहेको आरोप लगाए।

आचार्यले ग्यासको सहज आपूर्ति गर्न नसकेको, कालोबजारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको र चाडपर्वको समयमा महँगी बढ्दा सर्वसाधारण थप मारमा परेको दाबी गरे।

उनले ललितपुरका एक पौडेल थरका व्यापारीलाई एमाले केन्द्रीय सदस्यको ‘कृत्रिम परिचय’ दिँदै ग्यास लुकाएको आरोप लगाएर पार्टीलाई बदनाम गर्न खोजिएको दाबी पनि गरे।

एमालेले सरकार संरक्षित दलका कार्यकर्ताले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने, साइबर बुलिङ गर्ने र सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिको भर्त्सना गरेको छ। पार्टीले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री र संलग्न व्यक्तिको विवरण प्रमाणसहित सार्वजनिक गर्दै जाने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार