लोकसेवा नखुल्ने त्रासबीच भोलि पहिलो विज्ञापन, सहसचिवमा खुल्दैछ ढोका, तर ओ एण्ड एमको कैंचीले सिट घटायो

भोलि सबै सेवासमूहका सहसचिवको विज्ञापन, प्रशासनतर्फ पदसंख्या ह्वात्तै घट्ने


काठमाडौं । लोकसेवा आयोगको परीक्षा नै नखुल्ने त्रास र अन्योलबीच चालु आर्थिक वर्षको पहिलो विज्ञापन भोलि बुधबारदेखि खुल्ने भएको छ । आयोगले सबै सेवासमूहका सहसचिवस्तरका पदमा आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गर्ने भएको हो ।

लोकसेवा आयोगका प्रवक्ता पुरुषोत्तम शर्माका अनुसार विभिन्न सेवासमूहका सहसचिवस्तरका पदमा भोलि बुधबार विज्ञापन खुल्नेछ । संघीय मन्त्रालय तथा मातहतका निकायमा रिक्त रहेका सहसचिवस्तरका पदपूर्तिका लागि सम्बन्धित मन्त्रालयबाट माग प्राप्त भएपछि आयोगले विज्ञापन खुलाउन लागेको हो ।

भूमिव्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले विभिन्न मन्त्रालय तथा मातहतका निकायमा रिक्त हुने सहसचिवस्तरका पदको विवरण आयोगमा पठाएको थियो । । सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त मागका आधारमा आयोगले सबै सेवासमूहका सहसचिव पदमा विज्ञापन गर्न लागेको हो ।

ओ एण्ड एमको कैंचीको असर

सरकारले संघीय मन्त्रालय तथा मातहतका निकायको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण गर्दा सहसचिवसहित झण्डै दुई हजार पद कटौती गरेपछि चालु वर्ष लोकसेवा आयोगको परीक्षा र विज्ञापन प्रभावित हुने अनुमान गरिएको थियो ।

विशेषगरी प्रशासन सेवातर्फ सहसचिव, उपसचिव, खरिदार तथा नायब सुब्बालगायतका पदमा विगतको तुलनामा कम विज्ञापन हुने आकलन गरिएको थियो । त्यसको प्रत्यक्ष असर अब भोलि खुल्ने सहसचिवको विज्ञापनमा देखिने भएको छ ।

आयोग स्रोतका अनुसार गत वर्षको तुलनामा यस वर्ष सहसचिवका लागि माग भएको पदसंख्या निकै कम छ । ओ एण्ड एम सर्वेक्षणका क्रममा सहसचिवतर्फ सबैभन्दा बढी पद प्रशासन सेवामै कटौती भएकाले भोलिको विज्ञापनमा प्रशासन सेवाको सिटसंख्या पनि उल्लेख्य रूपमा घट्ने भएको हो ।

प्रशासन सेवामात्र होइन, अन्य सेवासमूहमा समेत गत वर्षको तुलनामा कम पदमा विज्ञापन हुने आयोग स्रोतको भनाइ छ ।

लोकसेवा खुल्ने भयो, तर प्रतिस्पर्धा झन् चर्किने

लोकसेवा आयोगको विज्ञापन नखुल्ने वा विगतको तुलनामा निकै कम पदमा मात्र विज्ञापन हुने आशंकाबीच भोलिको विज्ञापनले परीक्षार्थीका लागि केही राहत भने दिएको छ । तर पदसंख्या घटेकाले उपलब्ध अवसरका लागि प्रतिस्पर्धा भने थप चर्किने देखिएको छ ।

विशेषगरी लामो समयदेखि सहसचिव पदका लागि तयारी गरिरहेका प्रशासन सेवाका अधिकृतहरूका लागि यसपटकको विज्ञापनमा सीमित सिट महत्वपूर्ण बन्नेछ । ओ एण्ड एमका नाममा पद संरचना घटाइएपछि त्यसको प्रत्यक्ष असर बढुवा तथा खुला प्रतिस्पर्धाबाट सहसचिव बन्न चाहने कर्मचारीमा परेको छ ।

भोलि खुल्ने विज्ञापनसँगै चालु वर्ष लोकसेवा आयोगको नियमित परीक्षा प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ । तर विगतको तुलनामा पदसंख्या घटेकाले यस वर्षको लोकसेवा परीक्षा रोजगारी तथा करियरको अवसरका हिसाबले थप प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार