काठमाडौं। सरकारले पुँजी बजार सुधार तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेसँगै सेयर बजारमा उत्साह देखिएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर २ हजार ६३३.६२ विन्दुमा पुगेको छ।
मंगलबार कारोबार भएका ३४७ कम्पनीमध्ये २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ। कुल ७८ हजार ८६९ पटकको कारोबारमा २ करोड ३ लाख ८७ हजार ६६० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबारमा आएका सबै १३ उपसमूहका परिसूचक बढेका छन्। निर्जीवन बीमा समूह २.८२ प्रतिशतले बढ्दा वित्त, लगानी, जीवन बीमा र अन्य समूहमा पनि २ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ।
मंगलबार धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक १४.९६ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको ३२ करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
सरकारको २१ बुँदे कार्ययोजनाले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा खरिद चाप बढेको देखिएको छ। अब कार्ययोजनाको कार्यान्वयनले बजारको आगामी दिशा तय गर्ने देखिन्छ।

प्रतिक्रिया