१. यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥
अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताहरू प्रसन्न हुन्छन्; जहाँ नारीको सम्मान हुँदैन, त्यहाँ गरिएका कर्मसमेत निष्फल हुन्छन्। मनुस्मृतिमा उल्लिखित यो श्लोक केवल धार्मिक उक्ति मात्र नभएर नारीप्रतिको हाम्रो दृष्टिकोण र व्यवहार कस्तो हुनुपर्छ भन्ने शाश्वत सन्देश पनि हो। नारीको सम्मान भनेको केवल पूजा गर्नु वा प्रशंसा गर्नु मात्र होइन उनको अस्तित्व, विचार, निर्णय, अधिकार, क्षमता र योगदानलाई समान रूपमा स्वीकार र सम्मान गर्नु पनि हो।
त्यसैगरी देवी स्तुतिमा भनिएको छः
२. या देवी सर्वभूतेषु शक्ति-रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
अर्थात् प्रत्येक नारीभित्र शक्ति, साहस, विवेक, करुणा, सिर्जनशीलता र नेतृत्वको अद्भूत सामर्थ्य अन्तर्निहित हुन्छ। त्यसैले नारीलाई कमजोर बनाउने होइन, उनमा निहित शक्ति र सामर्थ्यलाई प्रस्फुटित हुने वातावरण बनाउनु परिवार, समाज, संस्था र राज्यको साझा दायित्व हो।
नारीको सम्मान गर्ने घर, संस्था र समाज मात्र वास्तविक अर्थमा सभ्य, समृद्ध र शक्तिशाली बन्न सक्छ। हामी सबैले नारीलाई अघि बढ्न दिऔँ, उनको बाटो छेक्ने प्रयास नगरौ। उनको आवाज सुनौँ, दबाउने काम नगरौ। उनको नेतृत्वलाई सम्मान गरौँ, प्रश्नको नाममा अपमान नगरौ। उनको सफलतामा ईर्ष्या नगरौ, झन हौसला प्रदान गर्ने गरौ।
हरितालिका तीज केवल व्रत र पूजाको पर्व मात्र होइन। खाना पिना रमाइलो गर्ने मात्र पनि हैन। यो त माता पार्वतीको दृढ संकल्प, आत्मविश्वास, साहस र आफ्नो जीवनको निर्णय आफैं गर्न सक्ने शक्तिको प्रतीक पनि हो। त्यसैले यो वर्षको हरितालिका तीजले हरेक नारीलाई आफ्नो अस्तित्व चिन्न, आवाज उठाउन, आत्मसम्मानका साथ बाच्न र आफ्ना सपनाहरू पूरा गर्न सक्ने प्रेरणा मिलोस। २१ औ शताब्दीका नारीलाई आलोचना होइन, साथ चाहिएको छ। तिरस्कार होइन, सम्मान चाहिएको छ। हतोत्साह होइन, हौसला चाहिएको छ। अपमान होइन, विश्वास चाहिएको छ।
यस वर्षको तीजले हरेक नारीलाई आफ्नो शक्ति चिन्न, आत्मसम्मानका साथ जीउन र निर्भीक भएर आफ्नो लक्ष्य आफैं तय गर्ने अदम्य साहस प्रदान गरोस। आफ्नो स्वाभिमान, अधिकार, अस्तित्व र समतामूलक समाज निर्माणका लागि निरन्तर अग्रसर हरेक उमेर समूहका सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीज, २०८३ को हार्दिक हार्दिक शुभकामना।

प्रतिक्रिया