काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने बताएका छन्।
सोमबार सिंहदरबारमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा आवश्यक सबै सरकारी संयन्त्र परिचालन गरिएको बताए।
छलफलमा जनप्रतिनिधिहरूले बाढीका कारण सडक र पुलमा ठूलो क्षति पुगेकाले राहत तथा पुनर्निर्माण प्रभावित भएको भन्दै तत्काल वैकल्पिक सडक र पुल निर्माण गर्न माग गरेका थिए।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार त्रिशूली नदी आसपासका करिब १९ वटा पुल बगेका छन् भने रसुवा–धादिङ–विदुर जोड्ने सडक अवरुद्ध छन्। उनले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न नगरपालिका स्तरबाट आवास, खाद्यान्न, ग्यास तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।
प्रभावित क्षेत्रको आवागमन सहज बनाउन ह्युमपाइप डाइभर्सन र बेलीब्रिज निर्माण गर्ने विषयमा समेत छलफल भएको छ। प्रधानमन्त्री शाहले तीनै तहका सरकारको समन्वयमा आवश्यक पूर्वाधार तत्काल निर्माण गर्ने प्रतिबद्धता जनाएको श्रेष्ठले बताए।

प्रतिक्रिया