वैकल्पिक मार्गबाट स्याफ्रुबेँसीसम्म पहुँच विस्तार


काठमाडौं।  रसुवाको भोटेकोशी हिमबाढीले पासाङ ल्हामु मार्ग क्षतिग्रस्त बनाएपछि नेपाली सेनाले वैकल्पिक मार्गमार्फत स्याफ्रुबेँसीसम्म पहुँच विस्तार गरेको छ।

सेनाको इन्जिनियरिङ टोलीले स्याफ्रुबेँसीदेखि चिलिमे जलविद्युत् आयोजनासम्म करिब १ हजार ५० मिटर पहुँचमार्ग निर्माण सम्पन्न गरेको छ। नुवाकोटदेखि धुन्चेसम्म वैकल्पिक मार्ग आंशिक रूपमा सञ्चालनमा आएको र धुन्चेदेखि स्याफ्रुबेँसीसम्मको सडक खुलाउने काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा करिब ६५ मिटर लेदो हटाइएको छ। सुरुङभित्र आवतजावत सहज बनाउन चारवटा ठूला पाइप प्रयोग गरी बाटो बनाउने काम भइरहेको सेनाले जनाएको छ।

यसैगरी रसुवागढी जलविद्युत् आयोजना, लामटाङ जलविद्युत् आयोजना, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनाका विभिन्न क्षेत्रमा संयुक्त टोलीले खोज तथा उद्धार तथा उत्खनन कार्य जारी राखेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार