असोज १ अघि नै पृथ्वी राजमार्ग खुलाउने तयारी


काठमाडौं । कृष्णभिरमा भासिएर अवरुद्ध पृथ्वी राजमार्ग असोज १ गतेअघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। त्रिशूली नदीको कटानका कारण भासिएको सडकसँगैको भिर काट्ने काम सकिएपछि अब सडकको सतह मिलाउने, कम्प्याक्सन र ग्राभेल गर्ने काम बाँकी रहेको छ।

पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख सिडिई सजना अधिकारीका अनुसार काम यही गतिमा अघि बढे दुई–तीन दिनमै सडक सञ्चालनमा ल्याउन सकिनेछ। १० मिटर चौडाइ र १५२ मिटर लम्बाइमा भिर काटेर सडक खुलाउने आधार तयार गरिएको छ।

सडक खुलाउन एक्साभेटर, बुल्डोजर, लोडर, ब्याकहो, टिप्पर, रक ब्रेकर र ग्रेडरलगायत उपकरण परिचालन गरिएको छ। दिनरात काम भइरहेको आयोजनाले जनाएको छ।

भदौ १४ गतेदेखि राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमा एलपी ग्यास, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ। सडक खुलेपछि खाद्यान्न, एलपी ग्यासका बुलेट, औषधि बोकेका सवारी तथा एम्बुलेन्सलाई प्राथमिकता दिइनेछ।

ट्राफिक प्रहरीका अनुसार राजमार्ग अवरुद्ध हुँदा दैनिक करिब १५ हजार सवारीसाधन प्रभावित भएका छन्। तीमध्ये करिब चार हजार मालवाहक तथा खाद्यान्न बोकेका सवारीसाधन रहेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार