भोटेकोशी बाढी : पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने अनुमान


काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीकोक्षति तथा नोक्सानी भएको छ।

बाढीबाट सडक, पुल, जलविद्युत् आयोजना, निजी घर, विद्यालय, स्वास्थ्य संस्था, व्यवसाय तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। पूर्वाधार पुनःउत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी आवश्यक पर्ने अनुमान छ।

बाढीबाट ७ हजार ५ सय ७० निजी घर, ४८ सार्वजनिक भवन, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदा प्रभावित भएका छन्। त्यस्तै, १३ जलविद्युत् आयोजना र पाँच सोलार प्लान्टमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

शिक्षातर्फ १८ विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ विद्यालय भवन पूर्णरूपमा क्षतिग्रस्त र ७ वटामा आंशिक क्षति पुगेको छ। विद्यालय संरचना पुनर्निर्माण तथा शैक्षिक गतिविधि सञ्चालनका लागि २ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ। बाढीका कारण ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

हालसम्म करिब १४ अर्ब रुपैयाँ सहयोग संकलन भए पनि पुनर्निर्माणका लागि अझै ७ खर्ब रुपैयाँभन्दा बढी रकम अपुग रहेको प्राधिकरणले जनाएको छ। सरकारले विश्व बैंक, एसियाली विकास बैंकलगायत दातृ निकायसँग सहयोगका लागि आग्रह गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार